
विराटनगर, ९ चैत- भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा रहेको स्वास्थ्यचौकीमा कर्मचारीले निःशुल्क वितरण गर्नुपर्ने औषधि बेचेको समाचार आएपछि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले चासो दिएको छ ।
विभिन्न सञ्चार माध्याममा समाचार आएसँगै सामाजिक विकासमन्त्री जीवन घिमिरेले घटनाको विषयमा सत्यतथ्य छानविन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डाक्टर त्रिभुवनचन्द्र झालाई निर्देशन दिएका हुन् ।
महिनावारीका कारण अत्याधिक रक्तश्राव भएपछि रामप्रसाद राई गाउँपालिका ७ की रमिला बोगटी मानेभञ्ज्याङ स्वास्थ्य चौकीमा पुगेकी थिइन् ।
हेल्थ असिस्टेन्ट सोनु साहले जाँच गर्दा बोगटीलाई स्लाइन र आरएल इन्जेक्सनको रकम तिरेकी थिइन् । अत्याधिक रक्तश्राव भएका कारण उनले सोही स्वास्थ्य संस्थामा उपचार गराएको ४ सय रुपैयाँ तिरेकी थिइन् । सरकारले निःशुल्क वितरण गर्न दिएको औषधि स्वास्थ्य संस्थामा बेचिने गरेको पाइएपछि प्रदेश मन्त्रालयको ध्यान गएको हो ।
७५ रुपैयाँ पर्ने स्लाइनलाई ४ सय लिएको पाइएपछि भोजपुरका जनस्वास्थ्य प्रमुख झालाई तत्काल त्यस विषयमा छानविन गरी दोषी पाइए तत्काल कारबाही गर्न मन्त्री घिमिरेले टेलिफोनमार्फत निर्देशन दिएका हुन् ।
‘सरकारले निःशुल्क वितरण गर्न दिएको औषधि बेचेको भन्ने जानकारीमा आएको छ,’ निर्देशन दिँदै मन्त्री घिमिरेले भने, ‘यो विषय के हो तत्काल छानविन गरी दोषी देखिएकालाई कारबाही गर्नुस् ।’