
जनकपुरधाम, ९ चैत– धनुषामा सञ्चालित स्नातकोत्तर दोस्रो वर्ष र स्नातक चौथो वर्षको परीक्षालाई मर्यादित बनाउन आएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ज्यान मार्ने धम्की आएको छ ।
परीक्षामा चिट चोर्ने परीक्षार्थीलाई निष्काशन गरेपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक अखिलेश कुमार सिंहलाई ज्यान मार्ने धम्की आएको हो ।
रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा जारी स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तथा जनकपुरका विभिन्न कलेजमा सञ्चालित स्नातक तह चौथो वर्षको परीक्षा मर्यादित बनाउन त्रिविका परीक्षा सहनियन्त्रक सिंह नेतृत्वको टोली जनकपुर आएको हो । केन्द्रबाटै टोली आएपछि परीक्षामा कडाइ गरिएको छ ।
सहनियन्त्रक सिंहले परीक्षामा चिट चोर्ने तथा अमर्यादित गतिविधि गर्ने परीक्षार्थीलाई धमाधम निष्कासन गरिरहेका छन् । सिंह नेतृत्वको टोलीले राराबबाट ६४ जना परीक्षार्थीलाई निष्कासन गरेको छ ।

सह–नियन्त्रक अखिलेश कुमार सिंह
यस्तै राजश्री जनक क्याम्पसमा स्नातक चौथो वर्षको परीक्षामा चिट चोर्ने ४ जना परीक्षार्थीलाई पनि सिंह नेतृत्वको टोलीले निष्कासन गरेको छ ।
परीक्षा हलबाट निकालिएका परीक्षार्थी तथा तिनका आफन्तहरुले फोन गरी आफूलाई धम्की दिएको सिंहले लोकान्तरलाई बताए ।
उत्तर पुस्तिक परिवर्तन गर्ने अर्को गिरोह सक्रिय
धनुषाका विभिन्न क्याम्पसहरुमा सञ्चालन हुने परीक्षामा चिट चोराउनेसँगै परीक्षार्थीको उत्तर पुस्तिका परिवर्तन गर्ने गिरोह समेत सक्रिय रहेको खुलेको छ । उक्त गिरोहका व्यक्तिले विद्यार्थीले लेखेको पुस्तिकाको ठाउँमा बाहिरबाट सबै प्रश्नहरु हल भएको उत्तर पुस्तिका हालेर परीक्षा नियन्त्रण कार्यालयमा पठाउने गरेको खुलेको छ ।
यस्तो गिरोहमा स्थानीय क्याम्पसमा काम गर्ने अधिकारी समेत संलग्न रहेको तथ्य फेला परेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका उप–नियन्त्रक सिंहले सम्पूर्ण परीक्षामा नै कडाइ गरेपछि उत्तर पुस्तिका परिवर्तन गर्ने गिरोह पनि उनीविरुद्ध सक्रिय भएको छ ।
उत्तर पुस्तिका परिवर्तन गर्ने गिरोहका सदस्यले समेत उप–नियन्त्रक सिंहलाई धम्की दिएका छन् ।