२६ जेठ २०८३, मंगलबार

२६ महिनापछि बैठकमा सहभागी आचार्यले राखे ४ बुँदे प्रस्ताव, 'कांग्रेस दोस्रो हुनु स्वभाविक'

२६ महिनापछि बैठकमा सहभागी आचार्यले राखे ४ बुँदे प्रस्ताव, 'कांग्रेस दोस्रो हुनु स्वभाविक'

काठमाडौं, १० चैत- लामो समय अस्वस्थ रहेर झण्डै २६ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी भएका नेता नरहरि आचार्यले ४ बुँदे प्रस्ताव पेश गरेका छन् ।

विगतको समीक्षा र भावी दिनमा पार्टीले गर्नुपर्ने कामहरूलाई ४ वटा बुँदामा छोटकरीमा समेटिएको छ । आचार्यले वाम गठबन्धनको रणनीति चिर्न नसक्दा पार्टी दोस्रो भएको उल्लेख गरेका छन् ।

'चुनावका मुखमा पार्टी एकता गरेर जाने वाम गठबन्धको निर्णयलाई हामीले पनि अवसरका रूपमा लिएर रणनीति बनाउनुपर्थ्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतान्त्रिक गठबन्धन भनेपनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस पार्टी दोस्रो हुनु स्वभाविकै थियो,' उनले भनेका छन् ।

साथै आचार्यले अब पार्टी संरचनालाई पूर्णता दिएर सरकारका गल्ती कमजोरी केलाउँदै सबल प्रतिपक्ष बन्नुपर्ने र समृद्धितर्फ केन्द्रित हुनुपर्ने प्रस्ताव गरेका छन् ।

हेर्नुहोस्, नेता आचार्यले बैठकमा पेश गरेको ४ बुँदै प्रस्तावको पूर्ण पाठ :

आदरणीय सभापतिज्यू,
महामन्त्री, कोषाध्यक्ष एवं सदस्य साथीहरू
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, सानेपा बीपीनगर

२०७४ चैत्र ९ गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत

नेपाली कांग्रेसको यस कार्यसमितिको बैठक- २०७४ को समग्र निर्वाचनको समीक्षा गर्न बसेको छ। नेपाली कांग्रेस कमजोर अवस्थामा आइपुगेको जनमतले देखाएको छ । यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविष्यमुखी बन्नुपर्नेछ। यतिखेर वस्तुपरक र कठोर समीक्षा जरुरी छ । आरोप/प्रत्यारोपले मात्र कांग्रेसमाथि आइपरेको यस चुनौतीको सामना गर्न सकिन्न ।

कांग्रेसले आफ्ना राजनीतिक एजेण्डाहरू अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छ । संघीय लोकतान्त्रिक गणराज्य नेपालको संविधान हामीले निर्माण गर्‍यौं । तर संविधानभित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौं । कांग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो । तर आफैंले गरेको परिवर्तनपछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको छ ।

१. निर्वाचनमा कांग्रेसको हार

निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन । प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन सकेनौं । चुनावका मुखमा पार्टी एकता गरेर जाने वाम गठबन्धको निर्णयलाई हामीले पनि अवसरका रूपमा लिएर रणनीति बनाउनुपर्थ्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतान्त्रिक गठबन्धन भनेपनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस पार्टी दोस्रो हुनु स्वभाविकै थियो ।

२. कांग्रेस पुरानै ढर्रामा

कांग्रेस अब पुरानै ढर्रामा अल्मलिनु हुँदैन । केन्द्रीय कार्यसमितिमा नयाँ साथीहरू आइपुग्नु भएको छ । ती साथीहरूले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दा पनि दीर्घकालिनरूपमा विषयलाई हेरेर कार्ययोजना अघि बढाउनुपर्छ । कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रूपमा उभ्याउनुपर्छ । सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफैँले विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनुपर्छ ।

३. पार्टी संरचनालाई पूर्णता

कांग्रेस पार्टी विधानले व्यवस्था गरेको संरचनालाई छिट्टो पूर्णता दिन अत्यन्तै जरुरी छ । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरू पनि पूरा भएका छैनन् । वर्तमान संविधान अनुरूपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्नेछ । त्यसका निम्ति यस केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गरेर नै अघि बढ्नुपर्दछ ।

४. संघीय गणतन्त्रको पूर्णता

कांग्रेसले संघीय गणतन्त्रका बाँकी विषयलाई पूर्ण गराउँदै जानुर्पछ । संघीयताको मोटो खाका संविधानमा कोरिएको छ । बाँकी रहेका अन्य थप विषयमा कांग्रेसले वौद्धिक बहस चलाउनुपर्ने हुन्छ । तत्कालीन राजनीतिक आवश्यकताका कारणले मात्रै होइन, दीर्घकालीनरूपमा आइपर्ने समस्या सुल्झाउन सक्ने किसिमबाट छलफल आवश्यक छ ।

एउटै बैठकमा सबै कुरा पूरा हुन सक्दैनन् । कामहरू छिटोछिटो गर्दै जानुपर्दछ । विधानमा भनिएका कतिपय कुरा पूरा हुन बाँकी छन्, कतिपूर्ण हुनसक्छन् तिनलाई पूर्णता दिँदै जानुपर्दछ । पार्टीको विधान संशोधनमा जानु पर्ने, थप विषयहरूमा छलफल गर्न तत्काल महासमितिको बैठक बोलाउने तयारी गर्नुपर्दछ ।

जय नेपाल !

तपाईंको साथी

नरहरि आचार्य

salt training

कमेन्ट गर्नुहोस्