
काठमाडौँ, १० चैत– सरकारले काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताए ।
“पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ,” मन्त्री विश्वकर्माले भने ।
त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लाग्ने मन्त्री विश्वकर्माले बताउनुभयो ।
सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने पनि उनले बताए । त्यस्तै, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पनि समयमा सम्पन्न गर्ने उनको भनाइ थियो ।
उनले विगतका दिनमा प्रतिकूल वातावरणका बीचमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा क्षमता विकास गर्ने खेलाडीको योगदानको सरकारले कदर गर्ने चर्चा गरे ।