
काठमाडौं, ११ चैत -एकता प्रक्रियाका कारण एमाले र माओवादी केन्द्रका तल्ला स्तरका कार्यकर्ता फुर्सदिला बनेका छन् । नेताहरू पार्टी एकता र सरकार सञ्चालनमा व्यस्त रहेको र एमालेले भ्रातृ संगठनका अधिवेशनलगायतका महत्वपूर्ण गतिविधिमा रोक लगाएपछि कार्यकर्ता फुर्सदिला बनेका हुन् । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनअघि व्यस्त रहेका वाम गठबन्धनका नेता एवं कार्यकर्ताहरू एकीकरण प्रक्रिया लम्बिएसँगै फुर्सदिला भएका हुन् । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनसँगै निर्वाचित हुनेहरू पाएको जिम्मेवारी पूरा गर्दै छन् । संघीय सरकार, प्रदेश सरकारका साथै स्थानीय तहमा निर्वाचित भएकाहरू जनताको सेवामा निरन्तर जुटिरहेका छन् , राजधानी दैनिकमा खबर छ ।
एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू कोही संघीय सरकारतर्फ त कोही प्रदेश सरकारतर्फ जिम्मेवारी लिएर सरकार सञ्चालनमा व्यस्त छन् । तर, निर्वाचनसँगै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रका कार्यकर्ता भने जिम्मेवारी एवं काम नपाएर अहिले फुर्सदिला भएका छन् ।