काठमाडौं, ११ चैत– वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नवौं पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको तीन दिनमै ५० हजारभन्दा बढीले अनलाइनका माध्यमबाट भाषा परीक्षाको आवेदन दिएका छन्।
कोरियामा रोजगारीका लागि जाने आशामा शनिबारसम्म यतिले आवेदन दिएका हुन्। ५५ हजारले ग्लोबल आईएमई बैंकमार्फत प्रतिव्यक्ति आवेदन फारमको २४ डलर शुल्क बुझाइसकेका छन्।
कोरियाले ईपीएसअन्तर्गत आगामी आर्थिक वर्षमा सात हजार एक सय जना नेपाली लैजाने जानकारी दिएको छ। त्यसैले कोरिया जाने आशामा धेरै युवाले आवेदन दिएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए।
तीन दिनमा भरेको फारमको अवस्था हेर्दा यस वर्ष गतवर्षको तुलनामा बढी आवेदन फारम भरिने अनुमान गरिएको उनको भनाइ छ।, अन्नपूर्ण पोस्टमा खबर छ।