
काठमाडौं, १२ चैत– युरोपेली संघ (ईयु) को तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पर्यवेक्षण गर्न आएको टोलीले सार्वजनिक गरेको प्रतिवेदनप्रति सरकारले असहमति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले यूरोपियन यूनियन (ईयु)ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाल र नेपालीलाई हेपेको र ‘अन्डरमाइन्ड’ गरेको महसुस भएको बताएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ईयुले आफ्नो प्रतिवेदन सच्याउला भन्ने लागेको थियो। तर झन् जिद्दीपन देखायो।’ उनले भने, ‘म एउटा सार्वभौम देशको प्रधानमन्त्रीको नाताले भन्छु त्यो प्रतिवेदन सच्याउनु पर्छ ।’
प्रधानमन्त्री ओलीले १५ प्रतिशत जनता विदेशमा भएको देशको ८० प्रतिशत नागरिकले गरेको मतदानमा कसैले प्रश्न गर्न नहुने भन्दै भने, ‘८० प्रतिशत नागरिकले मत खसालेका छन्। के त्यो सचेत नभएर हो? हाम्रो १५ प्रतिशत नागरिक त विदेश मै छन्।’
उनले पर्यवेक्षणको नाममा होस् या अन्य केही नाममा नेपालीहरुले हासिल गरेका उपलब्धीहरु र सामाजिक प्रबन्धहरुलाई अन्डरमाइन्ड हुने काम कहि कतैबाट हुन नहुने स्पष्ट पारे। ‘पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिलाई हामीले फिर्ता पठाएका थियौं त्यसैको प्रतिशोध लिने काम ईयूबाट भएको छ,’ उनले भने।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन हुने÷नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताए ।
प्रतिवेदनलाई बुधबार अन्तिमरुप दिने सहमति– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आइतबारको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
उनले भने, “मस्यौदामाथि दुवै पक्षले आआफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्य दलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।” एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त र सुवास नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।
कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ ।
तस्करका लागि नेपाल स्वर्ग जस्तो छः गृहमन्त्री- गृहमन्त्री रामबहादुर थापाले तस्करका लागि नेपाल स्वर्गजस्तै रहेको बताएका छन् । उनले नेपालमा अरबौँमा सुन, मानव र लागूऔषध तस्करी हुने गरेको बताए ।
नेपाल चेम्बर अफ कर्मसका प्रतिनिधीहरुसँग आइतबार भएको भेटमा गृहमन्त्री थापाले खास–खास नाकाबाट सुन र मानव तस्करी हुने गरेको बताएका हुन् । मन्त्री थापाले नेपालको अर्को चुनौती भष्ट्राचारलाई निर्मुल पार्नु पनि रहेको बताए । मन्त्री थापाले यी कुरा नियन्त्रण गर्न पुराना ऐन कानून संशोधन गर्नु पर्ने आशय व्यक्त गरे ।
काठमाडौंको धूलो नियन्त्रण गर्न १५ बुँदे निर्देशन– काठमाडौं उपत्यकाको धुवाँ–धूलो नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता देखाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नेतृत्वमा विशेष समिति गठन गर्दै प्रधानमन्त्री कार्यालयले धूलो नियन्त्रण र सडक विस्तारमा भइरहेको ढिलाइ रोक्ने काम थालेको हो ।
सडक विस्तारमा देखिएको समस्या, अव्यवस्थित फुटपाथ र समयमा काम सम्पन्न नगर्ने ठेकेदार विरुद्ध समेत कडाइ अपनाउने तयारी प्रधानमन्त्री कार्यालयले गरेको छ । त्यसका लागि मन्त्रालय, विभाग र महानगरहरुसँग त्यससँग सम्बन्धित विवरण एक सातामा उपलब्ध गराउन भनिएको छ ।
पिपल्स हाइड्रोले चीनबाट नौ अर्ब लगानी भित्र्याउँदै– पिपल्स हाइइ«ो लिमिटेडले चीनबाट रु नौ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ । कम्पनीले काठमाडौंमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो ।
कूल ४८.८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु १० अर्ब रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपूँजीमार्फत लगानी गर्नेछ ।
चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्नेछ । उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७०० दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
राप्रपा(प्रजातान्त्रिक)–राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले काठमाडौँ उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ । आइतबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले मुलुकको विकास र जनताको समृद्धिमा पार्टीका राजनीतिक गतिविधि सञ्चालन गरी बलियो पार्टी निर्माण गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
बैठकले जयकुमार खड्काको संयोजकत्वमा १५ सदस्यीय काठमाडौँ उपत्यका समन्वय समिति गठन गरेको छ । यही चैत १५ गतेभित्र समितिलाई पूर्णता दिई संगठन निर्माणको अभियान शुरु गरिनेछ ।
वैशाखदेखि औद्योगिक करिडोरमा विद्युत्भार कटौती अन्त्य गरिने– सरकारले ‘नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकार’को अवधारणासहित आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने भएको छ । उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक चार घण्टा विद्युत्भार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रको आइतबार साँझ स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ सालको वैशाख महिनाको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रलाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउन निर्देशन दिए ।
सात वर्षपछि पक्राउ परे सुटर– बुटवलमा सात वर्षअघि व्यापारी दम्पत्ति रमेश र आस्था भण्डारीको हत्याका सुटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल सालझण्डीका अर्जुन गौतम छन् । रेडर्कनर नोटिस जारी भएका गौतमलाई सुनौलीबाट पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । गौतमसहित ४ जनाको समूहले २०६७ असार ९ गते बुटवलको ब्यस्त बजार जेसिजचोकमा भण्डारी दम्पत्तिमाथि गोली हानेका थिए ।
एन्फाको साधारण सभा स्थगित– उच्च अदालतको आदेशपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १४ गतेका लागि तोकिएको साधारण सभा स्थगित गरेको छ । उच्च अदालत पाटनको आदेश अनुसार साधारण सभा स्थगित गरिएको हो ।
एन्फाका महासचिव धिरेन्द्र प्रधानले आइतबार विज्ञप्ती जारी गर्दै साधारण सभा स्थगित गरिएको जानकारी दिएका छन् । एन्फामा आवद्ध भक्तपुर र मकवानपुर फुटबल संघले आफूहरुलाई सहभागी नै नगराइ एन्फाले साधारणसभा गर्न लागेको भन्दै रिट जारी गरेपछि उच्च अदालत पाटनले उनीहरु सभागी हुने अवस्था नबनेसम्म साधारण सभा नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । एन्फामा अहिले ४५ जिल्लाका फुटबल संघ आवद्ध छन् ।