३१ जेठ २०८३, आइतबार

चिकित्सा शिक्षा : फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप

चैत १२, २०७४
चिकित्सा शिक्षा : फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप
सन्दर्भ तस्वीर

काठमाडौं, १२ चैत– चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी (नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ । 

चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन खडेबाबा (नक्कली शिक्षक) राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको हो ।

मेडिकल कलेजमा पढाउने विषयगत शिक्षकको औंठा छाप लिन थालिएको काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले बताए । हालसम्म काठमाडौं बाहिरका सबै मेडिकल कलेजमा काउन्सिलको टोली गई विषयगत शिक्षकहरूको बायोमेट्रिक लिइसकेका छन् ।

काउन्सिल अध्यक्ष डा.बास्कोटाका अनुसार राजधानीका मेडिकल कलेजमा अध्यापनरत विषयगत शिक्षकको औंठाछाप रेकर्ड ल्याउने कार्य भइरहेको छ । रेकर्ड लिँदा बायोमेट्रिक डिभाइस प्रयोग गरिएको उल्लेख गर्दै उनले भने, ‘अनुगमनका क्रममा पछि जाँदा डिभाइसमा भएको रेकर्डअनुसार औंठाछाप मिल्छ कि मिल्दैन चेक गर्छौं । रेकर्डमा मिलेन भने कारबाहीको दायरामा ल्याउँछौं । अब खडेबाबाहरूको खैरियत छैन ।’

बायोमेट्रिक डिभाइसमा विषयगत शिक्षकको हस्ताक्षर र अन्य व्यक्तिगत विवरणसमेत संकलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका विराटनगर, वीरगन्ज, भैरहवालगायत स्थानमा सञ्चालित मेडिकल कलेजका फ्याकल्टीमा विषयगत शिक्षक फर्जी भएको काउन्सिल स्रोतले बतायो । एमबीबीएस र बीडीएसमा अध्यापन गराउन खडेबाबा राखिने गरिएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्