
काठमाडौँ, १२ चैत - नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उनले भने , “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबीचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाले छिट्टै निष्कर्ष पाउँछ ।”
अध्यक्ष दाहालले पार्टी एकताको सन्दर्भमा विचार र राजनीतिको विषयमा सहमति भइसकेको तथा छिट्टै नै संगठनका सन्दर्भमा पनि सहमति हुने बताउँदै पार्टी एकता संयोजन समितिले गठन गरेका दुई वटा कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए ।
केही दिनभित्रै सम्पूर्ण खाका तयार हुने उल्लेख गर्दै उनले नेपाली जनतालाई नयाँ विश्वास पैदा गर्न एकताको अभियान शुरु गरिएको स्पष्ट पारे ।
अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रको फरकफरक र महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै फरकफरक राजनीतिक धार र चिन्तनबाट स्थापित दुई पार्टीबीचमा एकता हुन लागेको हुँदा दुबै पार्टीको चिन्तनलाई समानजनक स्थान दिनुइनुपर्ने बताए ।
आइतबारदेखि शुरु भएको अखिल (क्रान्तिकारी)को प्रशिक्षणलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत नेताहरुले प्रशिक्षण दिनुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।