
काठमाडौं, १३ चैत- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टी कमिटीमा दुवै पक्षका बराबरी संख्यामा नेता-कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव गरेका छन् ।एकीकृत पार्टीका माथिल्लोदेखि तल्लो कमिटीसम्म ‘फिप्टी-फिप्टी’ (समानताको सिद्धान्त) अवधारणाका आधारमा बनाउनुपर्ने दाहालले प्रस्ताव गरेका हुन् ।
अन्तरिम विधान बनाउन गठित कार्यदलले एकीकृत पार्टीको केन्द्रीय संरचनादेखि तल्ला कमिटी कति संख्याको बनाउने र कुन पार्टीले कति प्रतिशतका आधारमा नेता-कार्यकर्ता व्यवस्थापन गर्ने भन्नेमा शीर्ष दुई नेताको निर्णय पर्खिएका बेला दाहालको पछिल्लो प्रस्ताव आएको हो ।
दुई पार्टीबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँट भएको थियो । तर, चुनावी परिणाममा एमाले ७० र माओवादी केन्द्र ३० को नतिजामा देखिएपछि सरकार गठनमा भने ७०-३० को भागबन्डा भएको थियो।
तर, माओवादीले पार्टी एकता भने सिट बाँडफाँट र चुनावी नतिजाले मात्र निर्धारण नगर्ने भन्दै समानताको सिद्धान्तका आधारमा दुवै पक्षको समान हैसियत हुनुपर्ने बताउँदै आएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।