
काठमाडौँ, १३ चैत -अब सङ्घीय–संसद्को शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ तीन दिनभित्र विभागीय मन्त्रीले अनिवार्य रूपमा दिनुपर्ने भएको छ ।
सांसदले उठाएका प्रश्नमा विभागीय मन्त्री तथा मन्त्रालयले सभामुखमार्फत तीन दिनभित्र जवाफ दिनुपर्नेछ । संसद् बैठक नरहेको अवस्थामा पनि लिखित रूपमा जवाफ सभामुखलाई उपलब्ध गराउनुपर्नेछ ।
आजको गोरखापत्र लेख्छ- प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले शून्य समयमा उठाइएका विषयलाई प्रभावकारी बनाउन भन्दै तीन दिनभित्र जवाफ दिनुपर्ने बाध्यात्मक व्यवस्थामा सहमति गरेको हो ।
अहिले शून्य समयमा सांसदले उठाएका विषय ‘सुनाउने र सुन्ने’मात्र भएको भन्दै सांसदहरू स्वयंले गुनासो गर्दै आएका छन् । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले शून्य समयमा सांसदले उठाएका विषयमा बाध्यकारी जवाफका लागि नियमावलीमा नयाँ व्यवस्था गरिएको बताए ।