काठमाडौं, १३ चैत– वैदेशिक रोजगार विभागले केही वर्षयता म्यानपावर कम्पनीविरुद्धका उजुरी दर्ता प्रक्रियामा नलगी मेलमिलापमै टुंग्याउन जोड दिन थालेका छन् । विभागले मेलमिलाप गर्न जोड दिन थालेपछि उजुरीको संख्या घट्न थालेको छ ।
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेले दुई वर्षअघि म्यानपावर कम्पनीविरुद्धका उजुरी मिलापत्र गराउने परिपाटीको थालनी गरेका थिए । त्यसअघि सबैजसो उजुरी विभागको मुद्दा शाखामा दर्ता गराएर प्रक्रिया अगाडि बढाउने गरिएको थियो ।
मुद्दाको प्रक्रियामा जाँदा समय र पैसा बढी खर्च हुने भएकाले मिलापत्रको अभ्यास चलिरहेको विभागकै एक कर्मचारीले बताए । तर, मुद्दा मिलापत्रमा टुंग्याएबापत कर्मचारीले म्यानपावर व्यवसायीहरूबाट आर्थिक लाभ लिने गरेको स्रोतको भनाइ छ । तत्कालीन महानिर्देशक पाण्डे घुसकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेपछि हाल विशेष अदालतको तारेखमा छन् ।
आर्थिक वर्ष ०७१÷७२ सम्म बढ्दै गएको संस्थागत उजुरीको संख्या त्यसयता कम भएको हो । सो वर्ष म्यानपावरविरुद्ध ३ हजार ६३ उजुरी परेको थियो । तर, गत आर्थिक वर्ष १ हजार १ सय ५८ उजुरी मात्रै दर्ता भएका छन् । त्यस्तै चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा म्यानपावरविरुद्ध १ सय ६४ उजुरी मात्रै परेको छ ।
वैदेशिक रोजगारको क्षेत्र तुलनात्मक रूपमा सुरक्षित र व्यवस्थित बन्दै गएको, म्यानपावरमार्फत भन्दा व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएको, विभागले कतिपय अवस्थामा प्रमाण नपुगेको भन्दै उजुरी लिन नमान्नेलगायतका कारण पनि उजुरीको संख्या घट्दै गएको बताइएको छ ।
त्यस्तै उजुरीको सुनुवाइ नै नहुने, म्यानपावरप्रति विभागको नरम व्यवहार, मिलापत्रमै मुद्दा टुंग्याउने प्रवृत्ति र स्थानीयस्तरमै मुद्दा मिलाउने प्रचलनका कारण पनि विभागमा उजुरी कम परेको जानकारहरू बताउँछन् । विभागको मुद्दा शाखामा राहत तथा उद्धारका उजुरीहरू दर्ता गर्न छाडिएको छ । यस्तो निवेदन राहत तथा उद्दार शाखामा पठाउने र त्यहाँबाटै मिलाउने गरिएको छ ।, नयाँ पत्रिकामा खबर छ।