३० जेठ २०८३, शनिबार

धमाधम गाभिँदै रुपन्देहीका सरकारी स्कूल, अंग्रेजीमै पढाइ र अत्याधुनिक सुविधा !

चैत १३, २०७४
धमाधम गाभिँदै रुपन्देहीका सरकारी स्कूल, अंग्रेजीमै पढाइ र अत्याधुनिक सुविधा !

बुटवल, चैत १३-बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभिएको खबर त पुरानै हो । चुक्तापूँजी बढाउन राष्ट्र बैंकले दबाब दिन थालेपछि पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्था मर्जरको लहर नै चलेको छ ।

तर पछिल्लो समय रूपन्देहीमा बैंकहरू मर्ज भएजस्तै सामुदायिक विद्यालयहरू पनि एक आपसमा समायोजन भएर गुणस्तर सुधार गर्न जुटेका छन् । मूलतः विभिन्न कारणले विद्यार्थी संख्या कम हुन थालेपछि यहाँका विद्यालयहरू मर्जरमा जान थालेका हुन् ।

संघीय सरकारले विद्यार्थी न्यून भएका विद्यालयहरूलाई एक/आपसमा गाभ्ने नीति लिइरहँदा स्थानीय सरकारले समेत त्यसलाई पच्छ्याएका छन् । कुनै विद्यालयमा शिक्षक कम विद्यार्थी बढी, कुनै विद्यालयमा विद्यार्थी न्यून तर शिक्षक बढी भइरहँदा मर्जरको नीतिले गुणस्तरीय शिक्षामा टेवा पुग्ने सरोकारवालाहरूको विश्वास छ ।

गत वर्ष बुटवल–७ दीपनगरको दीप प्रावि दीपनगरकै अर्को सिद्धेश्वर माविमा गाभियो । यसवर्ष फेरि नेपालकै उत्कृष्ट नतिजा ल्याएर राष्ट्रिय स्तरमा ख्याती कमाएको कालिका मावि र मानवज्ञान माविले सोमबार समायोजन भएको औपचारिक घोषणा गरे । त्यस्तै पारी बुटवलमा रहेको बुटवल मावि र उजिरसिंह माविबीच समायोजनको चर्चा चलेको छ । रूपन्देहीमा कम विद्यार्थी भएका विद्यालयहरू एक आपसमा मर्ज हुने प्रक्रिया बढ्दै गएको छ ।

रूपन्देहीमा ४६४ सामुदायिक विद्यालय छन् । जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनिया न्यून विद्यार्थी भएका विद्यालय मर्ज हुनु आवश्यक रहेको ठान्छन् । ‘कम विद्यार्थी भएका विद्यालय एक/आपसमा गाभ्ने सरकारी नीति पनि छ,’ खनियाले भने, ‘अझै पछिल्लो सयम त स्थानीय तहलाई आवश्यक परे विद्यालय मर्ज गर्न सक्ने अधिकार दिएको छ ।’

उनले थपे, ‘विद्यालयको मर्जरले गुणस्तरीय शिक्षाका लागि निजी शैक्षिक संस्थामा जानुपर्छ भन्ने मान्यतामा रहेका विद्यार्थी घट्न सक्छन् । संस्थागत विद्यालयमा विद्यार्थी जानबाट रोक्न औषतमा कम विद्यार्थी भएका विद्यालयहरू गाभिएर गुणस्तर सुधार गरेमा राम्रो हुन्छ ।’

कालिका र मानवज्ञान एकीकृत भएपछि त्यसले राष्ट्रिय स्तरमा पनि चर्चा पाएको छ । कालिका र मानवज्ञान दुवै विद्यालयका प्रतिनिधिहरूको २०७४ माघ २३ गते बसेको बैठकले बुटवल वडा नम्बर १० कालिका नगरमा रहेको कालिका मावि र रामनगरमा रहेको मानवज्ञान माविलाई समायोजन गरी बृहत गुरुयोजनासमेत निर्माण गरेको थियो । जसलाई चैत १२ गते बसेको बुटवल उपमहानगरपालिका कार्यपालिकाको बैठकले समायोजन गर्ने अनुमति अनुमति दियो । सोही कार्यको औपचारिकता दिन कालिका मानवज्ञान माध्यामिक विद्यालयले सोमबार पत्रकार सम्मेलन गरी दुई विद्यालय एक भएको जानकारी गराएको छ ।

मर्जरपछि विद्यालयको नाम कालिका मानवज्ञान राखिएको छ । ‘अबको शैक्षिक सत्रदेखि दुवै विद्यालय एउटै शैक्षिक संस्थाको नाममा पठन–पाठन हुनेछ,’ प्रअ घनश्याम पाठकले भने, ‘अहिलेको एसइई परीक्षाको नतिजा आ–आफ्नै तरिकाबाट आउनेछ  ।’ तत्कालीन कालिकालाई सेक्टर ‘वान’ र तत्कालीन मानवज्ञानलाई सेक्टर ‘टू’ भनी विभाजन गरिएको पाठकले जानकारी दिए ।

एक आसपसमा गाभिएका विद्यालयले आगामी पाँच वर्षभित्र कालिका मानवज्ञानमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ कक्षा ९ देखि १२ कक्षासम्म सञ्चालन गर्ने, स्टेडियम, छात्राबास, शिक्षक, आवास, स्वीमिङपूल, आधुनिक मल्टिमिडिया सहितको कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय बनाउने छन् । त्यस्तै अन्डग्राउण्ड पार्किङ सहितको प्रयोशाला, पुस्तकालय, म्युजियम सहित ४ सय छात्र/छात्राहरका लागि छात्रावास निर्माण गर्ने ८ हजार पाँच सय विद्यार्थी पु¥याउने र अन्तर्राष्ट्रिय स्तरको सिकाइ केन्द्रको रूपमा स्थिापित गर्ने गुरूयोजना समेत सार्वजनिक गरे । यो गुरुयोजना ८८ करोडको हो ।

हाल कालिमा माविमा ४ हजार ३ सय ९७ विद्यार्थी छन् । जुन सामुदायिक विद्यालयतर्फ नेपालकै धेरै विद्यार्थी भएको विद्यालयमा पर्छ । मानवज्ञान माविमा भने जम्मा २ सय ५० विद्यार्थी छन् । आउँदो शैक्षिक सत्रमा सेक्टर २ मा ५ सय नयाँ विद्यार्थी थप गर्नेछ । कालिका मानवज्ञानमा अब १ सय ८३ शिक्षक कर्मचारी पुगेका छन् । सबै शिक्षकहरूलाई ल्यापटप उपलब्ध गराइने छ ।

सबै शिक्षकले मल्टिमिडियाबाट पढाउनुपर्नेछ । बुटवल–१० का वडाध्यक्ष पदम थापाले कालिका मानवज्ञान माविले विगतको नतिजा आउँदो वर्षमा पनि ल्याउनुपर्ने बताए । उनले भने, ‘तत्कालीन कालिका मावि नेपाल सरकारले मोडल स्कूलको रूपमा छनौट गरेको विद्यालय हो । आगामी वर्ष पनि छनौट हुनुपर्छ ।’

बुटवल–१ का वडाध्यक्ष महेन्द्र लिगलले बुटवल मावि र सरस्वती आधारभूत प्रावि मर्ज गर्न आवश्यक देखिएको बताए । उनले भने, ‘एउटै वडामा बुटवल मावि सरस्वती आधारभूत विद्यालयमा कम विद्यार्थी छन् । बुटव, सरस्वती र उजिरसिंह मावि मर्ज गर्न तीनवटै विद्यालयले सहमति जनाए मैले पहल गर्नेछु ।’

केही समय अगाडि बुटवल माविलाई उजिरसिंहमा समायोजन गरी उक्त विद्यालयमा मन्त्रालय राख्ने बहस पनि चलेको थियो ।

सबै सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ

रूपन्देही जिल्लाको ओमसतिया गाँउपालिकाले नयाँ शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी थालेको छ । विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएपछि गाँउपालिकाले शिक्षा ऐन र नियमावली पारित गरी शिक्षामा सुधार गर्न लागेको हो ।

व्यवस्थापनमा सुधार गरी अंग्रेजी माध्यमको पढाइबाट निजी र सामुदायिक विद्यालयको दूरी कम हुने ओमसतिया गाँउपालिका प्रमुख हिरा केवटको ठम्माइ छ । अंग्रेजी माध्यमबाट अध्यापन गराउनुपर्ने भएपछि विद्यालयहरूले पनि आवश्यक तयारी थालेको जनजागृती माविका प्रधानाध्यापक क्षेत्रबहादुर कार्कीले बताए ।

गाँउपालिकामा रहेका १६ सामुदायिक विद्यालय र चार मदर्साहरूमा बालविकासदेखि एक कक्षासम्म अंग्रेजी माध्यमको पढाइ शुरु हुन लागेको हो । २० वटा विद्यालयलाई आवश्यक पर्ने थप शिक्षकहरूको गाँउपालिकाले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने जनाएको छ ।

गाउँपालिकामा रहेका माध्यमिक विद्यालयहरूमा प्राविधिक कक्षाहरू थप गरिएको छ । संस्थागत र सामुदायिक विद्यालयहरूमा एकै प्रकारको पाठ्यपुस्तक, शिक्षक र पोशाक लागु हुने गाँउपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ७५/७६ को पहिलो महिनाभित्र स्वैच्छिक अवकाश लिन चाहने शिक्षकहरूलाई विशेष प्याकेजका कार्यक्रम गाँउपालिकाले राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्