
सुर्खेत, १३ चैत– करिब १ महिना अघि मात्रै सञ्चालनमा आएको सार्वजनिक शौचालय प्रयोग विहीन भएको छ ।
शौचालय वीरेन्द्रनगरको हटियालाइनमा बनाइएको छ । तर सर्वसाधारण भने शौचालय प्रयोग गर्नुको साटो खुला मैदानमै शौच गर्दै आइरहेका छन् ।
सुर्खेत जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेपनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समेत खुला शौच गरिनुले उक्त घोषणाको खिल्ली उडेको छ ।
वीरेन्द्रनगर–६ का स्थानीय एक व्यापारी रामबाबु विश्वकर्माले शौचालय प्रयोग गर्दा सडकतर्फ नभई पछाडी घुमेर जानुपर्ने र सार्वजनिक शौचालयको प्रचार प्रसारका अभावले अहिलेपनि आगन्तुकहरुको शौच गर्ने स्थान खुला मैदान नै भएको बताए ।
‘सार्वजनिक शौचालय बनेको महिना भन्दा बढी भएको छ, न त प्रचार प्रसार गरियो, न त अन्य केहि काम नै ।’ उनले भने, ‘शौचालय पनि मुख्य बजारमा नभएको र शौचालय नजिकै खुला मैदानसमेत भएकाले पैसा तिर्नु भन्दा मैदानमै शौच गर्ने विकल्प रोज्ने गरेका छन् ।’
शौचालयको निर्माण ग्रीन सिटी सेनिटेरियसनले गरेको हो भने उसलाई जग्गा नगर विकास समितिले शौचालयको कुल आम्दानीको वार्षिक १० प्रतिशत रकम बुझाउने शर्तमा १० वर्षका लागि हस्तान्तरण गरेको थियो । बहुआयामीक शौचालयको रुपमा निर्माण गरिएको शौचालय नबन्दै सडकतर्फका दुइ शटर गत असोज देखि नै मासिक २० हजार रुपैंया भाडामा दिइएको थियो ।
सार्वजनिक शौचालयको रेखदेख गर्ने तथा टिकट वितरण गर्ने गरेकी पवित्रा रानाले शौचालय प्रयोग गर्न दिनहुँ बढीमा १२ जना आउने गरेको जानकारी दिईन । उनका अनुसार शौचालयले दिसा गरेवापत १० रुपैंया लिेने गरेको छ भने पिसाब गरेवापत ५ रुपैंया लिने गरेको छ । शोचालय सञ्चालनमा आएको उक महिनाको अवधिमा १८ सय जति रकम जम्मा भएको उनले जानकारी दिईन ।
यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जनचेतना कमि भएको कारण खुला स्थानमा शौच गर्ने गरेको बताए । ‘नगरलाई स्वच्छ राख्ने सबै नगरवासीको दायित्व हो ।’ उनले भने, ‘सबैको हातेमालोले समृद्ध नगर बनाउन सम्भव छ ।’ यसकालागि सबै तह र तप्काबाट जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु आउन जरुरी रहेको उनको भनाई थियो ।
राममन्दिर नजिक शौचालय बन्ने
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख सुवेदीले नगरपालिकाले पिपलचौतारमा रहेको राम मन्दिर नजिकै बहुआयामकि शौचालय बनाउने योजना रहेको जनाए । उने उक्त ठाँउमा विभिन्न भेलाहरु, वैठक तथा सभाहर हुने भएकोले उक्त ठाँउमा सार्वजनिक शौचालयको आवश्यकता देखिएको उनको भनाई छ ।
वीरेन्द्रनगरमा २ मात्रै सार्वजनिक शौचालय
सुर्खेतउपत्यका खानेपानी उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालय नजिक, खुलामञ्चमा एक शौचालय सञ्चालनमा ल्याएको छ भने अर्को हटियालाईन स्थित ग्रीन सिटिले सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशको राजधानीमा अहिलेसम्म यी दुइ शौचालय मात्रै सञ्चालनमा आएका छन् तर प्रयोग विहीन जस्तै देखिएका छन् ।