
सुर्खेत, १३ चैत– कर्णाली प्रदेशको सबैभन्दा समृद्ध नगरपालिका वीरेन्द्रनगरको दोश्रो नगरसभाले पाँच ओटा ऐन पारित गरेको छ । असारमै ऐन पारित गरी कार्यान्वयन गर्नुपर्ने भए पनि प्रथम नगरसभामा तयारी नभएका कारण चैत ७ गतेदेखि १३ गतेसम्म बसेको दोश्रो नगरसभाले तत्काल आवश्यक पर्ने ऐन पारित गरेको हो ।
मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नगरउपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४, शिक्षा ऐन २०७४, सहकारी ऐन २०७४, कृषि व्यवसाय प्रर्वद्धन ऐन, २०७४ र न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन २०७४ पारित भएको बताइन् ।
यस्तै दोश्रो नगरसभाले न्यायिक समितिलाई पनि पूर्णता दिएको छ । उपप्रमुख मोहनमाया ढकालको संयोजकत्वमा न्यायिक समितिमा रामकुमारी थापा र टोपबहादुर रास्कोटी सदस्य रहने उनले जानकारी दिइन् ।
नगरसभाले बल बहादुर रोकायको संयोजकत्वमा लेखा समिति समेत गठन गरेको छ । लेखा समितिमा उपेन्द्रकुमार खड्का र डम्मर बहादुर नेपाली सदस्य रहेका छन् ।
नगर प्रमुख देवकुमार सुवेदीले नगरसभाले पारित गरेका ऐनहरू आगामी १५ दिनभित्र प्रमाणिकरण गरेर लागू गरिने बताए ।