
काठमाडौँ, १४ चैत - कांग्रेस सभापति शेरबहादुर देउवालाई विधान संशोधन नगरी पदाधिकारी मनोनयन गर्न अप्ठ्यारो पर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले दुई वर्षपछि विभाग गठन र पदाधिकारी मनोनयन गर्न विधानले नदिने भन्दै आलोचना गरेपछि देउवालाई कठिनाइ पर्ने भएको हो, कान्तिपुरमा खबर छ ।
केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनु केही दिनअघि देउवाले आफूनिकट सदस्यहरूसँग पदाधिकारी मनोनयनको तयारी गरेको जानकारी गराएका थिए ।
कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति तथा विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने’ व्यवस्था छ । तर, देउवा सभापति निर्वाचित भएको दुई वर्ष बित्दा पनि पदाधिकारी मनोनयन र पार्टीका ४२ विभाग गठन हुन सकेका छैनन् ।