
काठमाडौं, १४ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारत र चीनलगायत राष्ट्रसंग मित्रवत् सम्बन्ध राखेर अगाडि बढ्ने बताएका छन् । सबैको मित्र बन्ने र कसैको दुश्मन नबन्ने आफूहरूको नीति रहने उनको भनाइ छ ।
नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई मंगलवार बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताबारे ब्रिफिङ गरेका हुन् । ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा सरकारले कुनै पनि सम्झौता नगर्ने प्रष्ट पारे ।
‘संविधान ल्याएका छौँ, राजनीतिक स्थायित्वको माध्यमबाट अब हामी विकास र समृद्धिको बाटोमा जान चाहान्छौं,’ प्रम ओलीको भनाई उदृद्ध गर्दै एमाले नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले भने, ‘विकास र समृद्धिका लागि छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहान्छौँ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमिकता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए । निर्वाचन पर्यवेक्षण प्रतिवेदनका नाममा युरोपेली युनियन (ईयू)ले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई लिएर ओलीले यसअघि पनि यस्तै टिप्पणी गरेका थिए ।
नेपाली समाजमा हिंसाको कुनै स्थान नरहेको स्पष्ट गर्दै ओलीले सामाजिक सम्बन्ध र सद्भावमा खलल र्पुयाउन खोज्नेलाई प्रश्रय नदिइने दृढतासमेत व्यक्त गरे ।
समावेशी शासन व्यवस्था संविधानको मर्म हो भन्दै ओलीले त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । समानतामा आधारित सामाजिक न्यायविना दिगो शान्ति र समृद्धिको कल्पनासमेत गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले विविधतायुक्त हाम्रो समाजको सामर्थ्यको स्रोत र पहिचान पनि सामाजिक विविधता भएको उल्लेख गरे ।
छिमेकी मुलुकका जायज चासोप्रति सरकार गम्भीर रहेको प्रष्ट गर्दै ओलीले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि उपयोग हुन नदिने नेपालको अडानलाई दोर्होयाए ।
प्रधानमन्त्री ओलीले छिमेकका साथै सबै मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू लागिपरेको समेत बताए । ‘भारत र चीन नेपालका निकटका छिमेकी हुन्, दुवै देशसँगको हाम्रो सम्बन्ध अति सुमधुर छ । पारस्परिक विश्वास नै हाम्रो सम्बन्धको मुख्य तत्व हो,’ ओलीले भने ।
छलफलमा अमेरिका, चीन, भारत, युरोपेली मुलुकका राजदूतहरुको उपस्थिति थियो ।
विप्लवको एक्सन
समानान्तर सत्ताको अभ्यासमा देखिएको विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध ‘वारेन्ट’ जारी गरेको छ ।
दुई नेताका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको हो ।
सो पार्टीको रोल्पामा रहेको केन्द्रीय ‘जनअदालत’ का प्रकाशको नामबाट जारी भएको पुर्जीमा १५ दिनभित्र उपस्थित हुन उर्दी जारी गरिएको छ । वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषद् नेपालको नीति नियम अनुसार हुने चेतावनी पनि दिइएको छ ।
दुबै नेताका विरुद्धमा फरक–फरक मुद्दा परेको जनअदालतले जनाएको छ ।
यसअघि सरकारले विप्लवका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
निर्माता सुवास गिरी प्रहरी नियन्त्रणमा
अनमोल केसी अभिनित नेपाली चलचित्र ‘कु’का निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो फिल्मबाट गीत चोरी गरेको अभियोगमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो ।
चलचित्र निर्माता तथा निर्देशक सम्भु प्रधानले आफूले निर्माण गरेको फिल्मको गीत बिनाअनुमपति ‘कृ’ फिल्ममा समावेश गरेको भन्दै फिल्मका निर्माताविरुद्ध उजुरी दिएका थिए ।
प्रधानले २०४३ सालमा निर्माण गरेको ‘सम्झना’ चलचित्रको ‘उकालीमा अघि अघि’ बोलको गीत चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रधानले फिल्मका निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । तर भुवन केसीले भने आफू निर्माता नभएको बयान दिएका छन् ।
चलचित्र विकाश बोर्डले समेत ‘कृ’ चलचित्रको निर्माता सुवास गिरी भएको पत्र पठाएपछि उनलाई नियन्त्रण लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।
प्रहरीले गिरीविरुद्ध प्रतिलिपि अधिकार ऐन २०४९ अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौंमा अपराधको आंकडा
महानगरीय प्रहरी परिसर काठमाडौंले फागुनदेखि चैत १२ गतेसम्म काठमाडौंमा भएका अपराधिक घटनाको विवरण सार्वजनिक गरेको छ । एक महिनाको अवधिमा प्रहरीले ६ हजार ८ सय ४० अभियुत्तलाई पक्राउ गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको अपराधिक घटनाको विवरणमा सबैभन्दा बढी २४ जना जुवाडे पक्राउ गरेको विषयलाई प्राथमिकता दिएको छ । पक्राउ परेका जुवाडेहरुबाट २६ लाख ८८ हजार २ सय २० रुपैयाँ नगद बरामद भएको प्रहरीको भनाइ छ ।
प्रमको चाहना
प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा उनले आगामी वैशाख ५ गतेका दिन विद्यालय जाने उमेरका कुनै पनि बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।
“यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरका एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मन्त्री र माननीयले पनि त्यसै गर्नुहुन्छ ।”
नरभक्षी बाघ नियन्त्रणमा
मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ ।
साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताए
मकवानपुरको मनहरि गाउँपालिका ७ रमौली प्रतापपुरमा उक्त बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
त्यसलगत्तै चितवन र पर्साबाट पशु चिकित्सक, प्राविधिक, स्थानीय मध्यवर्तीका प्रतिनिधि र नेपाली सेनासहित ५० जनाको टोली डाटगनसहित बाघ नियन्त्रणका लागि खटिएको थियो ।
कांग्रेस बैठक
नेपाली काँग्रेसलाई विधि र विधानसम्मत ढंगबाट अघि बढाउन सुझाव दिइएको छ ।
निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकाँश सदस्यले पार्टीलाई नयाँ ढंगबाट एकताबद्ध भएर अघि बढाउन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए ।
वाम गठबन्धनबाट लोकतान्त्रिक विधि र प्रक्रियामाथि प्रहार हुनसक्ने संकेत देखिएकाले पार्टी्भित्र आपसमा आरोप प्रत्यारोप गर्ने बेला नभएको टिप्पणी गर्दै उनीरुले संसदीय बोर्डले उम्मेदवारलाई टिकट दिएको कुरा बिर्सेर नेतृत्वलाई कमजोर तुल्याउने ढंगबाट प्रस्तुत नहुनसमेत आग्रह गरेका थिए । समितिको अर्को बैठक यही चैत १५ गते बिहान ९ बजे बस्नेछ ।
भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम
न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।
परिषद्को मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।
राष्ट्रपतिको शपथबारे सर्वोच्चमा सुनुवाइ हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीबाट शपथ लिएकासम्बन्धी विवादमा परेको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि शपथका विषयमा सुनुवाइ हुने भएको हो ।
आदेशमा भनिएको छ, “संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।”
अधिवक्ता नारायण खरेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो तर न्यायाधीश खतिवडाको इजलासमा पेश गरेको निवेदनमाथिकै सुनुवाइ भएपछि थप बहस हुने भएको हो ।
सैनिकको मृृत्यु सम्बन्धमा छानविन
नेपाली सेनाले इटहरीस्थित सवुज गणमा कार्यरत अमल्दार भरत विक र प्यूठ दोलख चन्दको मृत्युबारे छानविन प्रक्रिया अघि बढाइएको छ ।
बर्दिया नेउलापुरका विक र सल्यान दमाचौरका प्यूठ चन्दे सोमबार स्विमिङ पुलको उत्तर पूर्व्स्थित माछा पोखरीमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएकामा उनीहरुको त्यही निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही अस्पतालमा शव परीक्षणको प्रक्रियामा रहेको जनाउँदै सेनाले घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रहरीसँगको समन्वयमा आवश्यक छानविन प्रक्रियासमेत अघि बढाइएको जनाएको छ ।
अनशनरत अस्थायी शिक्षक र विद्यार्थीसँग वार्ता गर्न समिति गठन
शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थी समूहसँग वार्ता गर्न शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयबमोजिम गठित समितिको सदस्यमा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल र विभागका निर्देशक केशव दाहाल रहेका छन् ।
मन्त्री पोखरेलका अनुसार दुवै पक्षसँग वार्ता गरी समाधानको उपाय खोज्न निर्देशन दिइएको छ ।
यही चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगन गर्न माग गर्दै अस्थायी शिक्षक अनशनमा छन् भने खुल्ला प्रतियोगितामार्फत शिक्षक छनोट हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले अलग्गै अनशन जारी राखेका छन् ।
बलात्कारीलाई मृत्युदण्डको सजाय माग
प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।
बैठकको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।
शेयर बजारमा सुधार
सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार मंगलबार ले बढेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ ।
आज कूल १६६ कम्पनीको १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको छ ।
व्यापार उपसूचकबाहेक अरु सबै उपसूचक उकालो लागेका छन् । व्यापार समूह ३।१३ बिन्दुले ओरालो लाग्दा बैंकिङ ३३.२७, होटल १२६.२६, विकास बैंक ४१.७, जलविद्युत् ६१.७७, फाइनान्स २.४३, बीमा २९३.८६, उत्पादन १४.७६, अन्य ३.८८ र माइक्रोफाइनान्स समूह ६५.५ बिन्दुले उकालो लागेको छ ।
निरन्तर शेयर बजार ओरालो लागेपछि लगानीकर्ता संघले सोमबारमात्रै बजार सुधारका लागि सरकारसँग माग गरेको थियो । संघको सकारात्मक पहलपछि बजारमा केही राहत महसुस गरिएको बताइएको छ ।
युनाइटेडको दुई विदेशी खेलाडी
धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ ।
यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो ।
विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । उनी दायाँ हाते ब्याट्सम्यान विकेटकिपर हुन् । उनले भारतमा दिल्लीबाट रणजी ट्रफीसमेत खेलिसकेका छन् ।
मेहरा अलराउण्डर हुन् । उनी बायाँ हाते स्पिन बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले पनि भारतको दिल्लीबाट रणजी ट्रफी खेलिसकेका छन् ।
महेन्द्रनगर युनाइटेडको कप्तानमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन् । टोलीका अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आशिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेका टिम व्यवस्थापक नीरज चन्दले जानकारी दिए ।