
विराटनगर, १४ चैत-उदयपुरमा बुधबार भएको ट्याङ्कर दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
घुर्मी–कटारी सडकखण्डको कटारी नगरपालिका–११ गहुँबारीमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो भने तीन जनाको अवस्था गम्भीर छ ।
बिहान ३ बजेतिर कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना६ख ३२३१ नम्बरको ट्याङकर अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनामा ट्याङकर चालक बाराको अमलेखगंज- ४ बस्ने अन्दाजी २३ वर्षीय पूर्णप्रसाद खनाल र मकवानपुरको नामाटार बस्ने ३१ वर्षीय सरोज मोक्तानको ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनामा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बारा निजगढका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखाको चरिकोट बस्ने २५ वर्षीय सुजन गोले गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि काठमाडौं पठाएको इलाका प्रहरी कार्यालय कटारीले जानएको छ ।