
बुटवल, १४ चैत- पाहुना टीम हिमालयन एफ.सी. मलेसियालाई पराजित गर्दै थ्रीस्टार क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल– १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा बुधबार भएको प्रतियोगितामा हिमालय एफ सी मलेसियालाइ २–१ ले हराउँदै थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको हो अब थ्रीस्टारले चैत १६ गते पहिलो सेमीफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
हिमालयन एफ.सी.ले खेलको ८४औं तीर्थ बस्नेतको गोलबाट अग्रता बनाएको थियो । तर त्यसको २ मिनेटमै थ्रीस्टारका विदेशी खेलाडी आवसले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । इञ्जुरी समयमा थ्रीस्टारका मार्टिनले गोल गर्दै टिमलाई २–१ को स्थितिमा पुर्याए । बाँकी समयमा हिमालय एफ.सी.ले कुनै पनि गोल गर्न सकेन र खेल थ्रीस्टारले जित्यो ।
प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्वितिय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलमा बिहीवार मनाङ मस्र्याङ्दी र विभागीय टीम नेपाल पुलिस क्बल भिड्ने छन् ।