०६ असार २०८३, शनिबार

कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु

चैत १५, २०७४
कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु

पाल्पा, १५ चैत- रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । 

विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको हो । 

गएको असारमा फोक्सिङ्गकोट कोटथर निवासी नरबहादुर पाडेलाई लगातार ज्वरो आउने, शरीर कमजोर हुने, पेट फुल्ने समस्या आएपछि तानसेनस्थित मिशन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा उपचार गराउँदा पनि निको नभएपछि काठमाडौँ पठाइएको थियो । 

काठमाडौँमा जाँच गर्दा कालाजारका किटाणु देखिएकाले रोग सार्ने ससाना भुसुनामा समेत यसका किटाणु हुनसक्ने भएकोले ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशन अनुसार भुसुनाका नमुना संकलन गरिएको जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र काठमाडौँका अनुसन्धान अधिकृत विवेककुमार सिंहले बताउनुभयो । 

संक्रमित भुसुनाले मानिसलाई टोक्दा कालाजार रोग लाग्ने गर्दछ । जीउ कालो हुँदै जाने, दुई हप्ताभन्दा बढी समय ज्वरो आउने, भुँडी सुन्निएर बायाँतर्फ सर्दै जाने तथा बिरामी कमजोर हुँदै जानु कालाजारका लक्षणहरु हुन् । 

चरणबद्ध अनुसन्धानपछि भुुसुनामा कालाजारका किटाणु भेटिए यस क्षेत्रमा भुसुना मार्ने अभियान सञ्चालन गरिने अनुसन्धान अधिकृत विवेककुमार सिंहले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्