काठमाडौं, २७ मंसिर– ‘एमाओवादी जनताको पार्टी भएकोले म पनि यसमा सम्माहित भएको हुँ । पार्टीले दिने जिम्मेवारी पूरा गर्न म तयार छु र यो पार्टीमा पार्टी प्रवेश गर्न पाउँदा खुसी लागेको छ । अहिले चलचित्रको पर्दामार्फत मात्र आम जनमानसमा पुग्न नसकिएको कारणले पार्टी प्रवेशबाट अब हरेक नेपाली जनताका घर घरमा गएर सेवा गर्ने चाहन्छु । नायिका हुँदा मनोरञ्जन दिएँ अब देश र जनताको सेवा गर्न चाहन्छु ।‘

२०७० जेठ ४ गते एमाले नेत्री उर्मिला अर्यालसँगै तत्कालिन एमाओवादी (हाल माओवादी केन्द्र) मा प्रवेश गर्दा नायिका रेखा थापाले राखेको भनाई हो, यो । तर तिनै रेखा थापा अहिले माओवादी परित्याग गर्दै कमल थापा नेतृत्वको राप्रपामा प्रवेशको तयारीमा छिन् ।
आखिर उनले किन छाडिन् माओवादी ? यसबारे नायिका रेखा थापासँग जिज्ञासा राख्दा केहि खुल्न चाहिनन् । उनले लोकान्तरसँग भनिन्, ‘राप्रपामा प्रवेश गर्न लागेकी छु, इन्द्रेणी फुडल्याण्डमा आउनुस् त है, त्यही कुरा गरौंला ।’ नयाँवानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा राप्रपाले पार्टी प्रवेशको कार्यक्रम राखेको पार्टी केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
उनले माओवादी छाड्नुको कारण अहिले नखोलेपनि सो पार्टीमा लागेर अवसर नपाउनु नै हो भन्छन् उनका निकटस्थहरु । निकटस्थहरुका अनुसार उनले दोस्रो संविधानसभामा टिकट माग गरेकी थिइन् त्यो पाइनन् । पछि चलचित्र विकास बोर्डमा जान लबिङ गरेपनि त्यो पूरा हुन पाएन । पार्टीमा लागेपनि कुनै अवसर नपाएपछि उनी पार्टी परिवर्तन गर्ने निश्कर्षमा पुगेको बताइन्छ । यसो त उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गर्ने चर्चा पनि चलेको थियो ।