०९ असार २०८३, मंगलबार

एमाले–माओवादी एकता राजनीतिक प्रतिवेदन तयार

चैत १७, २०७४
एमाले–माओवादी एकता राजनीतिक प्रतिवेदन तयार

काठमाडौँ, १७ चैत -दुई वाम शक्तिको एकीकरणपछि निर्माण हुने नयाँ दल ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ को आगामी राजनीतिक बाटो तय गर्न गठित कार्यदलले आफ्नो जिम्मेवारीको प्रतिवेदन तयार पारेको आजको गोरखापत्रमा खबर छापिएको छ  । 

माओवादी केन्द्रका नेता देव गुरुङले कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको भन्दै  प्रतिवेदनको मस्यौदामा देखिएका भाषिक त्रुटि र प्रतिवेदनको आकार मिलाउने काम मात्र बाँकी रहेको बताए  । 
पार्टी एकतापछि बन्ने नेकपा दलले समाजवाद उन्मुख राजनीतिक बाटो तय गर्ने गरी प्रतिवेदन तयार भएको छ । करिब ४१ पृष्ठको सो प्रतिवेदनले नयाँ दलको आगामी राजनीतिक बाटो तय गर्ने विश्वास कार्यदलका सदस्यहरूको छ । 

मुलुकको आर्थिक समृद्धि, भेदभावको अन्त्य, समानता, राज्य संयन्त्रमा सबै वर्ग समुदायको समान पहुँच, सबै नेपाली जनतालाई समान शिक्षा, समतामूलक समाज निर्माण, सुशासन कायम गर्न भ्रष्टाचारको समूल अन्त्य, युवालाई स्वदेशमै रोजगार दिने गरी प्रतिवेदन तयार गर्न लागिएको छ । 
भाषिक त्रुटि सच्याएर प्रतिवेदन तयार गर्ने जिम्मा संयोजक माधवकुमार नेपालसहित माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट रघुजी पन्तलाई जिम्मेवारी दिइएको छ । तीनै जना नेताले शुक्रबार बैठक बसी भाषिक त्रुटि मिलाउने काम गर्नुभएको छ । नेता रघुजी पन्तका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिई आइतबारसम्म पार्टी एकता संयोजन समितिमा बुझाइनेछ । 
प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ देखि भारत भ्रमणमा जाने तयारी गरेको  बेला कार्यदलले आफ्नो प्रतिवेदन तयारीमा तीव्रता दिएको छ । यसअघि अन्तरिम विधान तथा सङ्गठनात्मक संरचना प्रतिवेदन तयार गर्ने कार्यदलले गत बुधबार नै प्रतिवेदन तयार गरेको थियो । 
रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले ‘जनयुद्ध’ र चुनाव चिह्न ‘सूर्य’ बारे सामान्य विमति देखिए पनि करिब सल्टिएको कार्यदलका सदस्यहरूले बताएका छन् । माओवादी केन्द्रका नेताले नयाँ विधानको प्रस्तावनामै जनयुद्ध शब्द पर्नुपर्ने माग राखेका छन् । त्यस्तै, सूर्यको बीचमा हसिया हथौडा राख्ने माग पनि माओवादीको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्