
मस्तिष्कका विशेष भागहरूमा रगत प्रवाहमा बाधा हुँदा मस्तिष्कघात हुने गर्छ । मस्तिष्कका रक्तनलीबाट रक्तश्राव हुँदा पनि अकस्मात् यस्तो समस्या आउने गर्छ । यो गम्भीर समस्या हो । अव्यवस्थित जीवनशैली र अन्य शारीरिक समस्याका कारण मस्तिष्कघात हुने गर्छ । नेपालमा पनि यस्ता बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । यस्ता बिरामीको आपत्कालीन उपचार नगरे बचाउनै मुस्किल पर्छ । त्यसैले सबै यसबारे सचेत हुन आवश्यक छ ।
अकस्मात् टाउको अत्यधिक दुख्नु ।
अकस्मात् कमजोरी महसुस हुनु र शरीरका कुनै–कुनै अंग जस्तै– पाखुरा, खुट्टा वा शरीरको पूरै भाग, दाहिने वा देब्रे हरले काम गर्न छाड्नु ।
मुखको एक भाग बांगिनु ।
बोल्न नसक्नु ।
दिसा–पिसाब नियन्त्रणमा नहुनु ।
मस्तिष्कघातपछि
मस्तिष्कघातको आपत्कालीन रूपमा उपचार गर्नुपर्छ । त्यसका लागि बिरामीलाई तुरुन्तै अस्पताल पु-याउनुको विकल्प रहँदैन । र, जतिसक्दो चाँडो उपचार सुरु गर्नुपर्छ । नत्र, बिरामीको मृत्यु नै हुन सक्छ ।
यस्तो रोग निको हुन लामो समय लाग्छ । उपचारका क्रममा बिरामीको राम्रोसँग हेरविचार गर्न अत्यावश्यक हुन्छ । यस्ता बिरामीमा विभिन्न खालका अन्य जटिलता पनि देखिन सक्छ । त्यसैले विभिन्न संक्रमण, निमोनियाजस्ता समस्याबाट बचाउन सक्नुपर्छ ।
बिरामी निको भइसकेपछि पनि पोषणमा विशेष ध्यान दिन जरुरी हुन्छ । -नयाँ पत्रिकाबाट