
काठमाडौं, १८ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई वारेन्ट जारी गर्ने नेक्रविक्रम चन्द विप्लव समूहलाई केटाकेटी खेल नखेल्न चुनौती दिएका छन् । ‘केपी ओलीलाई वारेन्ट ? यस्तो ठट्टा मजाक ? बरु प्रहसन कार्यक्रममा आउनुस्, मदनकृष्ण, हरिवंश र धुर्मुसलाई भन्दिन्छु ।’
रिर्पोटर्स क्लबको कार्यक्रममा ओलीले शनिवार भने, ‘प्रचण्डलाई वारेन्ट रे, कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनु रे ? विप्लवलाई यस प्रकारका राजनीतिक मजाक नगर्न सुझाव दिन चाहान्छु । अलि बढ्ता भयो के !’
प्रम ओलीले मुलुक अब यस्ता कुरामा नअल्झिने बताए । ‘माओवादी जनयुद्धको खाल उठिसक्यो, खाल नै नभएपछि च्याखेहरूले यो बन्द गरे हुन्छ,’ ओलीले थपे ।
ओलीले चन्दा उठाउनका लागि विप्लव समूहले क्रान्तिको गफ दिइरहेको टिप्पणी गरे । ‘सुतली बम पनि माक्सवादको सिद्धान्त हुन्छ ? चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?’ ओलीले प्रश्न गरे ।
कार्यक्रममा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गरेरै छोड्ने दृढता व्यक्त गर्दै यसकालागि सबै साधन र श्रोत परिचालन गर्न तयार रहेको स्पष्ट पारे ।
अहिले देशको अर्थतन्त्र नाजुक भएपनि यसलाई उकास्न सरकारले विशेष योजनाका साथ अघिबढ्ने उनको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि संकल्प गरेर अघि बढ्नु पर्ने बताए ।
छिमेकीसँगको सम्बन्ध नेपालको हितमा प्रयोग हुने वातावरण सृजना हुन नदिएको गुनासो उनको थियो ।
कांग्रेस बैठक स्थगित– निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकोमा उनीप्रति सम्मान प्रकट गर्दै आइतबारका लागि निर्धारित बैठक स्थगित भएको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेता खड्काको शव बिहान ९ बजेसम्म सानेपास्थित उनकै निवासमा राखिनेछ । बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । अपराह्न १ बजेपछि नेता खड्काको आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुनेछ ।
राधालाई अविर जात्रासहित सम्मान– बोक्सी आरोपमा निर्घात कुटिएकी राधा गाउँ फर्किएकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षिया राधा फागुन २४ गते बोक्सी आरोपमा गाउँकै तान्त्रिक बोले बाबा उर्फ रामबहादुर चौधरीलगायतबाट निर्घात कुटिएकी थिइन् ।
कुटपिटबाट घाइते बनेकी उनी २२ दिनको धनगढी बसाईपछि गाउँ फर्केकी हुन् । देउकलियाका भल्मन्सा (थारु समुदायको मुखिया) राजाराम चौधरी सहितको टोलीले उनलाई गाउँ फर्काएको हो । उनलाई गाउँमा अविर जात्रासहित गाउँलेहरुले भव्य स्वागत तथा सम्मान गरेका छन् ।
स्थानीयहरुले अब सामूहिक रुपमै रुढीवादी परम्परा विरुद्ध लड्ने प्रण समेत गरेका छन् । स्वस्फुर्त कार्यक्रममा उपश्थित भएका स्थानीयहरुले पुनः त्यस्तो घटना दोहोरिन कहिल्यै नदिने प्रतिबद्धता समेत जनाएका छन् ।
भल्मन्सा (थारू मुखिया) राजाराम चौधरीले समाजमा मेलमिलापको वाताबरण कायम गर्न औपचारिक कार्यक्रमको आयोजना गरेको बताए । स्थानीय समाजसेवी जीतबाहादुर चौधरीले सबैको हातेमालोले मात्रै समाज परिवर्तन हुने भएकाले सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा राधा चौधरीले आफ्नो जस्तो घटना कसैको चेलीबेटीले भोग्न नपरोस भन्दै सबै नारी एउटै भएका कारण कसैलाई पीडा दिएमा आफूहरु अब चुप नबस्ने बताइन् । साथै उनले बोक्सी हुदैनन् भन्ने शिक्षा प्रवाह सबैले गनुपर्ने आग्रह गरिन् ।
पिँधमा पुगेको अर्थतन्त्र उकास्न चुनौती– मुलुकको अर्थतन्त्र परिचालन गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयलाई बेवास्ता गर्दै गरिएका सरकारी निर्णयका कारण आर्थिक परिसूचकहरू पिँधमा पुगेका छन् । अर्थ मन्त्रालयको सहमति बेगर अनगिन्ति आर्थिक भार सिर्जना हुने गरी विगतमा भएका निर्णयका कारण अर्थतन्त्रको मियो नराम्ररी विचलित भएको पछिल्ला तथ्यांकले पुष्टि गरेका छन् ।
केही वर्षयताका सरकारले गरेका वित्तीय अनुशासनहीन निर्णयका कारण समग्र आर्थिक सूचकांकहरू नकारात्मक देखिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । आर्थिक बोझ पर्ने गरी सम्बन्धित मन्त्रालयको प्रस्ताव बेगर हचुवाका भरमा निहित राजनीतिक स्वार्थका कारण भएका निर्णयबाट राज्य कोष लथालिङ्ग भएको हो ।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयन प्रक्रियामा अनुशासन कायम गर्न ल्याइएको मध्यकालीन खर्च संरचनाको अवधारणा ल्याइए पनि विगतमा पटकसो विषयलाई पूरै नजरअन्दाज गरिएको श्वेतपत्रमा उल्लेख छ । बजेट कार्यक्रममा अनुशासन कायम गर्न अवलम्बन गरिएको मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश कार्यक्रम संशोधन गर्ने, आर्थिक वर्षको मध्यमा आएर सयौँ योजना थप गर्ने प्रवृत्तिका कारण पनि आर्थिक प्रणाली धरापमा परेको हो ।
एउटै निर्णयबाट २६९ आयोजनालाई स्रोतको व्यवस्थाबिना नै रु एक खर्ब २२ अर्ब बराबरको ठेक्का लगाउने सहमति भएको, मन्त्रिपरिषद्ले निर्णय गरेर रु ४० करोड २० लाख ८६ हजार वितरण भएकाले पनि अर्थतन्त्र समस्यामा परेको श्वेतपत्रमा समावेश गरिएको छ । चालू आवमा आर्थिक सहायताका लागि रु २५ करोड विनियोजन गरिएको छ । तर विनियोजन गरिएको भन्दा थप रु १५ करोड आर्थिक सहायता बाँडिएको श्वेतपत्रमा जनाइएको छ ।
यस्तै काठमाडौँ उपत्यकाभित्र निर्माण गरिन लागेको एक आयोजनाका लागि रु ५१ करोड भुक्तानी दिनुपर्ने छ भने संशोधित शिक्षा ऐनमा भएको व्यवस्थाका कारण चालू आवमा रु सात अर्ब र वर्षेनी रु २० अर्ब बराबरको आर्थिक दायित्व थपिएको अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको श्वेतपत्रमा उल्लेख छ ।
मेची–महाकाली रेलमार्ग निर्माण हुँदै– भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ ।
नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
बदिबास–जयनगर रेलमार्ग भारतको मधुवनी जिल्ला हुँदै नेपालको धनुषा, महोत्तरी र सिराहा जिल्लालाई समट्नेछ । नेपालतर्फ कूल ६५ दशमलव ७३ किमि रेलमार्ग पर्दछ भने भारततर्फ २ दशमलव ९९ किमि पर्दछ ।
रेलमार्गमा गुड्ने रेलको गति १०० किमी प्रतिघण्टा रहनेछ ।
सो रेलमार्गमा १७ वटा ठूला पुल र १२३ वटा साना पुल निर्माण भएका छन् । भारत सरकारको तर्फबाट रेल जोडिने बित्तिकै बदिबास–जयनगर रेल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सम्भवतः आगामी वैशाखदेखि नै सो रेलमार्गमा रेल चल्नेछ ।
यसवर्ष बुद्धकृष्णले जिब्रो छेड्ने– आगामी वैशाख २ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यसवर्ष स्थानीय ४६ वर्षका बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने भएका छन् । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले यसबारे जानकारी दिँदै बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयार भएको बताए ।
यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडेका उनकी आमाको निधनपछि बोडेका जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडे भने गतवर्ष पुनः जिब्रो छेडेका बुद्धकृष्णले यसवर्ष छैटौँ पटक जिब्रो छेड्ने भएका हुन् ।
काठमाडौँ गोल्डेन्स विजयी– रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको हो ।
टिम चौराहले टस जितेर ब्याटिङ गर्दै काठमाडाँँै गोल्डेन्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त विजय लक्ष्य काठमाडाँै गोल्डेन्सले १८ दशमलव ४ ओभरमा पुरा गर्यो । काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक ८१ रन बनाए ।
बलिङतर्फ टिम चौराहका सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए । यसअघि टिम चौराहले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । टिम चौराहका लागि सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए ।
बलिङतर्फ काठमाडाँै गोल्डेन्सका साहब आलमले ह्याट्रिक विकेट गरे । उनले खेलको १८ औँ ओभरमा लगातार तीन विकेट लिएका हुन् । आइतबार महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच हुनेछ ।