
काठमाडौं, १८ चैत– प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक लडाइँबाट देशले पार पाइसकेको बताएका छन् । देश सुशासन, विकास र समृद्धि हुँदै समाजवादको यात्रामा हिँडेको दुवैको भनाइ छ ।
विपक्षी दलले देशमा तानाशाही लाद्न खोजेको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिस्टलाई तानाशाही भनिरहेका छन् । जनता भोकै मर्दा मन नपोल्ने सरकार देशमा छैन । जनता भोकै मर्दा मन पोल्ने सरकार छ । अब तराईमा जाडोले कठ्यांग्रिएर कोही पनि मर्नु पर्दैन । मधेसी जनताका लागि सरकार छ ।’
देशको विकास र समृद्धि नै सरकारको मिसन भएको बताएका ओलीले ढुंगा फाल्दा जहाँ खस्यो, त्यहीँ गन्तव्य नबन्ने बताए । रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सवमा शनिबार उनले माछापुच्छ्रे, कञ्चनजंघालगायतका गाउँपालिकामा ९४ प्रतिशतको हाराहारीमा साक्षरता रहेको, तर रौतहटलगायतका तराईका क्षेत्रमा ३४ प्रतिशत पनि साक्षरतादर नहुनु दुःखद भएको बताए ।
५ वैशाखमा विपन्न जनताका एक छोरीलाई विद्यालयमा भर्ना गराएर पढाउने बताएका प्रधानमन्त्री ओलीले एक शिक्षितले अर्को एकजनालाई साक्षर बनाउन आग्रह गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले भाषणभन्दा पनि परिणाम खोजेको बताए । ‘हामी सबैको साथ र सहयोग रहन्छ । भाषणभन्दा पनि परिणाम निकाल्ने गरी सरकारले एक्सन लिएर काम गर्नुपर्छ,’ उनले भने । उनले संविधान जारी भइसकेको सन्दर्भमा पार्टी एकतासँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिए । नयाँ सरकार गठनका लागि जनताले साथ दिएको भन्दै उनले अब जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ पत्रिकामा खबर छ ।