
संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले शुक्रवार सरकारी ढुकुटी रित्तिएको र देश करिब सात खर्ब ऋणमा परेको आर्थिक अवस्थासहितको श्वेतपत्र सार्वजनिक गरे लगत्तै आम मानिसमा एउटा आक्रोश सहितको कौतुहलताको सृजना भएको छ । आखिर जनताले आफ्नो श्रम र पसिनाको दोहन गरेर राज्यलाई पोषेको त्यत्रो पैसा कहाँ गयो ? यसले जनतालाई मात्र होइन, स्वयं नेताहरुलाई पनि चकित तुल्याएको हुनुपर्छ, किनभने ढुकुटी रित्तिएपछि तलब भत्ताको पीर जनतालाई भन्दा नेतालाई धेरै पर्नु स्वाभाविक हो ।
देशको ढुकुटी रित्तिएपछि ठूलाबडाका विदेश भ्रमण ठप्प हुने सम्भावना देखिन्छ भने, आफ्ना छोरा छोरी नाति नातिनीको बिहे, जन्मदिन, श्रीमतीको ‘किट्टी पार्टी’ लगायतका सम्पूर्ण मनोरञ्जनका कामहरु एकाएक स्थगित हुने देखिन्छन् ।
गाडी किन्न नपाइने भयो, त्यसमा हाल्ने तेल कै समस्या हुने भयो, बिभिन्न कार्यक्रम गर्नको लागि होटेल बुक गर्ने पैसा रहेन । ढुकुटी रित्तियो भनेर अर्थमन्त्रीले भनिरहँदा धेरै सांसदहरु मुसु मुसु हाँसिरहेका थिए । जो जो हाँसे, उनीहरुले पक्कै पनि केही वर्षको लागि आफ्नो खर्चपानी सुरक्षित गरिसकेको हुनुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते संसदमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदमा बोल्दै विगतको प्रतिबद्धता अबको सरकारबाट खनखनी गनेर लिने कुरा गरेका थिए ।
’प्रधानमन्त्रीज्यूले घोषणापत्र कण्ठ गरेर आइस् भन्नुहोला, अब कण्ठस्थ पार्ने मात्र होइन, पटक–पटक यहाँ भन्नेछु, कांग्रेस अब माग्ने ठाउँमा आइपुगेको छ । अब वाचा पूरा गरेर देखाउनुस् नगदमा चाहिन्छ, खनखन गनेर ...!’
गगनले वाम गठबन्धनले गरेको प्रतिबद्दतासंग आफ्ना कुराहरु जोडे पनि, ‘खनखनी’ र ‘क्यास’ भन्ने शब्द ढुकुटीसंगै जोडिएका कुराहरु हुन् । ढुकुटी रित्तिएको थाहा पाएको भए सायद उनले यी शब्दहरु प्रयोग गर्दैनथे । आखिर गगन थापालाई पनि थाहा नहुने गरेर रित्तिएको ढुकुटी कस्तो होला ? के ढुकुटी खतम गर्दा गगन थापा जस्ता दोश्रा तेश्रा तहका नेताहरुलाई थाहा नदिईकन खतम गरिन्छ ? सोचनीय बिषय बनेको छ । गगन थापाज्यू ! ढुकुटी रित्तिएको यो अवस्थामा तपाईलाई खनखनी गनेर क्यास कसले दिने रहेछ ?
देशको ढुकुटी रित्ताउनुमा कांग्रेसको कामचलाउ सरकारको भूमिका रहेको वामपन्थी गठनबन्धनका नेताहरुले आरोप लगाउँदै आएका छन् । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ६५ बर्षमै बृद्धभत्ता दिने निर्णय गरेपछि वामपन्थी गठबन्धनले पत्रकार सम्मेलन गरेरै विरोध गरेको थियो । कांग्रेसले वृद्धभत्ता पाउने उमेर घटाएर सरकारी ढुकुटी रित्त्यायो भन्दै बारम्बार लाग्ने गरेको आरोप लागेपछि युवा नेता विश्वप्रकाश शर्माले ‘जसले ढुकुटी जोड्यो उसलाई रित्याउने अधिकार रहेकोे’ भन्ने आशयको भाषण गरेर चर्चामा आएका थिए ।
देशको ढुकुटीलाई तीन चार वटा ‘सन्दुक’मा राखेर कांग्रेसले जोडेको, एमालेले जोडेको, माओवादीले जोडेको, फोरमले जोडेको, राप्रपाले जोडेको भन्ने स्टिकर टाँस्ने हो भने जसले जोडेको हो उसैले रित्याउन पाउने गरेर त्यो सन्दुक नै हस्तान्तरण गर्नुपर्ने कानून पास गर्नुपर्छ की भन्ने सुझाव यो पंक्तिकारले नयाँ अर्थमन्त्रीलाई दिन चाहन्छ । जसले जोडेको भए पनि एकै ठाउँमा लगेर जम्मा गर्ने प्रबृत्तिले आफ्नो छोडेर अर्काको ढुकुटीमा आँखा लगाउने नियतलाई बढावा दिन्छ ।
ढुकुटी सकिएर ऋण पनि लागिसकेको अवस्थामा पनि पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री लगायतका अन्य अर्थविद्हरुले रित्तिएको छैन भनेर भनिरहेका छन् । ‘ढुकुटी रित्तियो भनेर जस लिन खोज्ने ?’ उनीहरुको भनाइ छ । अर्थमन्त्रीले प्रधानमन्त्रीलाई देखाएर, हिसाब किताब गराएर, खाता पाता पल्टाएर ढुकुटी रित्तिएको निष्कर्षमा पुगिसकेपछि देख्दै नदेखेकाहरुले ढुकुटी बाँकी छ भन्न कसरी मिल्छ ?
नेपालमा हरेक वर्ष आयात बढ्छ, तर राजस्व बढ्दैन । विदेश निर्यात हुने युवा बढ्छन्, रेमिट्यान्स घट्छ । ढुकुटी रित्तिन्छ तर विशिष्ठहरुलाई दिइने सेवा सुबिधा २०० किमी प्रतिघन्टा कुँद्ने मेट्रोको स्पिडमा बढ्छ ।
भ्रष्टाचारलाई वित्तीय अनुशासन उल्लङ्घन भनिन्छ भने ढुकुटी रित्तियो भन्नु भन्दा ढुकुटीमा कुनै कारणवश प्वाल परेकोले पैसा जति सबै बाहिर निस्केको र छिट्टै गिरफ्तार गरिने भनेर अर्थमन्त्रीले सन्तुलित भाषा प्रयोग गर्न मिल्दैनथ्यो र ? कुरो त उस्तै उस्तै हो ।
‘जति जम्मा गरे पनि रित्तिने ढुकुटीमा किन पैसा जम्मा गर्नु पर्यो ?’ भनेर जनताले कर तिर्न छोडे भने के होला ? जति दिए पनि नहुने भनेर बिदेशीहरुले पैसो दिन छोडे भने के होला ? देशको ढुकुटीमा यत्रो खेलवाड गर्न पाइन्छ ?
बच्चा खालि हात जन्मिन्छन् भनेर धेरैले भन्ने गर्छन् । तर नेपालमा भने बच्चा तेइस/चौबिस हजार ऋणको ‘कपाली तमसुक’ सहित जन्मिन्छ । बच्चा ऋण सहित जन्मिने संसारको एकमात्र देश सायद नेपाल मात्रै हुनुपर्छ । जन्मदै ऋणको भारी बोकाउने र देशको ढुकुटी रित्याउनेहरुलाई अबोध बच्चा बच्चीको श्राप कहिले लाग्छ ?
ढुकुटी रित्तियो भन्ने श्वेतपत्रमा तीन चार वटा नियत लुकेको हुन सक्छ । पहिलो त ढुकुटी नै नभएको देशमा के फर्कनु भनेर बिदेशिएका नेपालीहरु नेपाल फर्किन चाहन्नन् र रेमिट्यान्स बढ्छ ।
अर्को नियत भनेको रित्तिएको ढुकुटी देखाएर जनताबाट धेरै कर असुल्ने नियत हुन सक्छ । अझ अर्को नियत झन् खतरनाक छ, सरकारलाई गरिब देखाएर विदेशी दातृनिकायसंग अलि धेरै भीख माग्न पाइन्छ । अहिले कछुवाको गतिमा चलिरहेका पुनर्निर्माण र पूर्वाधार निर्माणहरुलाई ढुकुटी सकिएको बहानामा रोकेर अलि लामो समय लतार्न पाइन्छ ।
यी र यस्तै धेरै दवाबहरुको कारणले गर्दा अर्थमन्त्रीलाई ढुकुटी रित्तियो भन्ने अभिव्यक्ति आएको हुन सक्छ ! त्यसैले जनता बेलैमा सचेत हुनुपर्ने देखिन्छ । के रित्तिएको ढुकुटी लिएर सत्ता चलाइरहेकाहरुले आफ्नो तलब भत्ता कटौती गर्न सक्छन् ? किन भने हामीसँग इतिहास पनि छ, २०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला सरकारले पहिलो निर्णय आफ्नो र मन्त्रीहरुको तलब भत्ता कटौती गरेर शुरु गरेका थिए । सर्वाहाराको वकालत गर्नेहरु सत्तामा आएपछि त्यो वा त्यस्तै प्रकारको निर्णय हुन सम्भव छ त ? जनता जान्न चाहन्छन !