काठमाडौं, २० माघ — ह्वाइट हाउसले बुधवार एउटा कडा सन्देश जारी गर्दै सरकारी अधिकारीहरूलाई धम्क्याएको छ । उक्त सन्देशमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिसँग सहमत नहुने अधिकारीहरूले राजीनामा दिए हुन्छ भनिएको छ ।

ट्रम्पलाई विरोध गर्ने अधिकारीहरूलाई धमाधम बर्खास्त पनि गरिएको छ । कायममुकायम महान्यायाधिवक्ता र आप्रवासी कार्यालयका प्रमुखलाई जागिरबाट निकालिएको छ ।
ट्रम्पले कार्यकारी आदेश जारी गरेर सात मुस्लिमबहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिनसम्म रोक लगाएका छन् । यो आदेशको विरोध गर्ने महान्यायाधिवक्ता स्याली येट्सलाई बर्खास्त गरिएको छ ।
अनि आप्रवासका प्रमुख डेनियल रेग्डेललाई हटाएर उनको ठाउँमा टमस होमानलाई ल्याइएको छ ।
यसबाट ट्रम्पले आफूसँग सहमत नहुने सबैलाई राजीनामा दिएर बसे हुन्छ भन्ने सन्देश दिएका छन् ।
यसबीचमा प्रतिबन्ध लगाइएका सात देशलाई अघिल्लो ओबामा प्रशासनले नै खतरनाक आतंकवादी क्रियाकलापमा संलग्न भनी किटान गरेको ह्वाइट हाउसका चीफ अफ द स्टाफ रीन्स प्रीबसले बताए ।
एजेन्सीको सहयोगमा