
काठमाडौं, १८ चैत– नेपालमा अवैध रुपमा बसिरहेको अवस्थामा पक्राउ परेका एक अमेरिकी नागरिकले काठमाडौंको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या गरेका छन् ।
नेपालमा अवैध रुपमा बसेको भन्दै पक्राउ परेका अमेरिकी नागरिक जोन पारमाकले आइतवार साँझ ट्रमा सेन्टरको छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
पर्यटन प्रहरीले उनलाई एक साता अगाडि पक्राउ गरेको थियो । अध्यागमन विभागको हिरासतमा रहेका बेला उनले बिहीवार विहान ब्लडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका थिए ।
घाँटीमा चोट लागेपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । आइतवार उनले प्रहरीलाई छलेर ट्रमा सेन्टरको छैटौं तलाबाट हाम फालेको महानगरीय प्रहरी बृत्त जनसेवाले जनाएको छ ।
लागू औषध प्रयोगकर्ता जोनसँग पासपोर्ट र भिसा नभएको भन्ने सूचना पाएपछि पर्यटन प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि अध्यागमन विभागले अनुसन्धान गरिरहेको थियो ।