
काठमाडौँ, १९ चैत- काठमाडौँ — सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ तोड्न आइतबार नयाँ निर्देशिका र मापदण्ड जारी गरेको छ । यातायात व्यवस्था विभागले ५ निर्देशिका र दुई मापदण्ड नयाँ जारी गरेको छ भने तीनवटा निर्देशिका संशोधन गरिएको छ ।
बाटो (रुट) निर्धारण निर्देशिका–०७४, मझौला तथा साना सवारी परीक्षण निर्देशिका–०७४, मझौला तथा साना सवारी निरीक्षण निर्देशिका–०७४, सवारी प्रदूषण परीक्षण निर्देशिका–०७४ र स्कुल बस निर्देशिका–०७४ नयाँ जारी गरिएका हुन् । यस्तै, कारखाना तथा वर्कसप दर्ता सञ्चालन मापदण्ड–०७४ र बस बडी बिल्डिङ मापदण्ड–०७४ पनि नयाँ जारी गरिएको हो । संशोधन गरिएकामा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका–०६०, मालवाहक सवारीको भारवहन नियमन निर्देशिका–०७१ र सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका–२०६९ छन् ।
तर सिन्डिकेट जोगाउन यातायात ब्यबसायीली आन्दोलन थालेको खबर कान्तिपुरले छापेको छ |
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले अरनिको राजमार्गमा सवारी आवागमन ठप्प पारेको छ ।
केही दिनअघि मात्र प्रधानमन्त्रीले बनेपा–काठमाडौं रुटमा चल्ने मयूर यातायातका बसलाई अवरोध पुर्याए रुट खारेज गर्न विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई निर्देशन दिएका थिए । स्थानीय व्यवसायीसँग समन्वय नगरी विभागले मयूर यातायातलाई रुट इजाजत दिएको भन्दै महासंघले आवागमन ठप्प पारेको हो । कोटेश्वरपूर्वका १३ समितिले अरनिको राजमार्गलगायत भक्तपुर र काभ्रेका स्थानीय रुटमा गाडी गुडाउन बन्द गरेका छन् ।