
काठमाडौँ, १९ चैत - नेपालका गिद्ध उडेर अरू देश पुग्छन् कि पुग्दैनन् ? गत वर्षसम्म जवाफ कसैसँग थिएन । अहिले थाहा भयो– नेपालका गिद्ध उडेर भारत र पाकिस्तानसम्म पुग्दारहेछन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ (बीसीएन) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा गिद्धको ढाडमा ‘स्याटेलाइट टेलिमेट्री ट्याग’ जोडेपछि नेपाली गिद्ध आहार र जोडीको खोजीमा भारतको हिमाञ्चल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्मै पुगेको खुलासा भएको हो ।
गत मंसिरमा ढाडमा स्याटेलाइट जोडेर जंगल (प्राकृतिक बासस्थान) मा छाडिएको अति संकटापन्न सूचीको डंगर प्रजातिको गिद्ध नवलपरासीको पिठौलीबाट ११ सय किलोमिटर यात्रा पार गर्दै भारत–पाक सीमामा पुगेको हो । उक्त गिद्ध दुई पटक त्यहाँ पुगेको पाइएको छ र अहिले पनि उतै छ, कान्तिपुर दैनिकमा खबर छ ।