काठमाडौं, २७ मंसिर — इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा एक इनिङ र ३६ रनको विजय हासिल गर्दै भारतले पाँच म्याचको शृंखलामा कब्जा जमाएको छ ।

मुम्बईमा सम्पन्न खेलमा पाचौं दिनको पहिलो घन्टाभित्र इंग्ल्यान्डलाई अलआउट गर्दै भारतले प्रभावशाली जीत हासिल गरेको हो । इंग्लयान्डले जम्मा १९५ रन बनाउन सकेको थियो ।
भारतलाई जीत दिलाउन रविचन्द्रन अश्विनले ६ विकेट लिए । समग्र म्याचमा उनले १२ विकेट लिए ।
यसअघि कप्तान विराट कोहलीको दोहोरो शतकको मद्दतले भारतले पहिलो इनिङमा ६३१ रनको विशाल स्कोर खडा गरेको थियो । ३४० बलको सामना गर्दै २३५ रन बनाएका कोहलीका अतिरिक्त मुरली विजयले १३६ अनि जयन्त यादवले १०४ रन बनाएका थिए ।
इंग्ल्यान्डले पहिलो इनिङमा कीटन जेनिङ्सको ११२ रनको मद्दतमा ४०० रन बनाएको भएपनि दोस्रो इनिङमा अत्यन्तै कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो ।
त्यस्तै उसको बलिङ पनि प्रभावशाली रहेन । अब्दुल रशिदले चार विकेटका लागि १९२ रन खर्चनुप—यो भने मोईन अलिले १७४ रन खर्चेर दुई विकेट लिए ।
दोहोरो शतक बनाएका कोहली म्यान अफ द म्याच भए ।
शृंखलाको पहिलो म्याच ड्र भएको थियो भने दोस्रो म्याचमा भारत २४६ रनले विजयी भएको थियो । त्यस्तै तेस्रो म्याच भारतले आठ विकेटले जितेको थियो ।
पाँचौं टेस्ट चेन्नईमा पुस १ गतेदेखि शुरू हुँदैछ ।