०९ असार २०८३, मंगलबार

धूलो नियन्त्रण गर्न मन्त्री बस्नेतले गठन गरे इकाइ, भन्छन्- 'मास्क लगाउने दिन अन्त्य हुँदैछ'

धूलो नियन्त्रण गर्न मन्त्री बस्नेतले गठन गरे इकाइ, भन्छन्- 'मास्क लगाउने दिन अन्त्य हुँदैछ'

काठमाडौं, २० चैत- राजधानी काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरको धूलो नियन्त्रणका लागि भन्दै वातावरण मन्त्रालयमा धूलो नियन्त्रण इकाइ गठन भएको छ । धूलो नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन भन्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले धूलो नियन्त्रण इकाइ गठन गरेका हुन् ।

वातावरण मन्त्रालय अन्तर्गतको वातावरण प्रदूषण महाशाखाका प्रमुख शंकर पौडेलको नेतृत्वमा प्रदूषण नियन्त्रण इकाइ गठन गरिएको हो । इकाइले तत्कालै काम शुरु गर्नेछ ।

‘राजधानी काठमाडौं उपत्यकालाई धूलोमुक्त बनाउने अभियान शुरु गरेका छौं,’ मन्त्री बस्नेतले लोकान्तरसंग भने, ‘आशा गरौं केही समयमै मास्क लगाएर हिँडनुपर्ने दिनको अन्त्य हुनेछ ।’

राजधानीलगायतका शहरलाई धूलोरहित बनाउने कुरालाई कार्यान्वयनमा ल्याउन यस्तो इकाइ गठन गरिएको उनले बताए ।

‘काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रणका लागि प्रभावकारी ढंगले काम हुनेछ,’ मन्त्री बस्नेतले भने, ‘तपाईंहरूले केही दिनमा नतिजा देख्नुहुनेछ ।’ प्रचारको लागिभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्न उनले सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारका पूर्व वातावरण मन्त्री लालबाबु पण्डितले काठमाडौंलाई धूलो र प्रदूषणमुक्त शहर बनाउने भन्दै अभियान शुरु गरेपछि प्रसंशा भएको थियो । वातावरण मन्त्रालय वनमा गाभिएपछि त्यसको नेतृत्व शक्ति बस्नेतले गर्दै आएका छन् ।

धूलो नियन्त्रण इकाइ गठन भएपछि काठमाडौंको प्रदूषण नियन्त्रणमा आउने मन्त्री बस्नेतको विश्वास छ । काठमाडौं उपत्यकाको प्रदूषण घटाउने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन कार्यान्वयनलाई पनि उनले जोड दिएका छन् ।

‘धूलोको अल्पकालीन नियन्त्रणका लागि सडक निर्माण र मर्मत भइरहेको स्थानमा पानी हाल्ने लगायत छन्,’ अध्ययन प्रतिवेदन टोलीका संयोजकसमेत रहेका पौडेलले लोकान्तरसँग भने, ‘दीर्घकालीन समाधानका लागि सडकलाई हरियाली बनाउने, सवारी प्रदूषण नियन्त्रणलगायका योजना छन् ।’

प्रधानमन्त्री ओलीले पनि काठमाडौंको धूलो नियन्त्रण गर्न सरोकारवालालाई निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्