
काठमाडौं, २० चैत — पत्रकार तथा अभिनेत्री जेसिका डेन्सनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध मुद्दा दर्ता गराएकी छन् । महिलाले खुलासा नगर्ने सम्झौता (नन डिस्क्लोजर अग्रीमेन्ट) रद्द गराउने माग राखेकी छन् ।
उनले ट्रम्पको निर्वाचन अभियानका बेलामा उक्त सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । यसै सम्झौताको बलमा आफूमाथि भएको यौन शोषणका बारेमा केही बोल्न नदिइएको उनको आरोप छ ।
ट्रम्पको अभियानमा काम गर्दा आफूमासथ उत्पीडन र भेदभाव भएको जेसिकाको भनाइ छ । अघिल्लो वर्ष नोभेम्बर महीनामा उनले उत्पीडनको विषयमा मुद्दा हालेकी थिइन् र क्षतिपूर्तिस्वरूप करोडौं रुपैयाँ मागेकी थिइन् ।
उता ट्रम्पको टोलीले पनि महिलासँग क्षतिपूर्ति रकम माग गरेको छ । नन डिस्क्लोजर अग्रीमेन्ट तोडिएकोमा क्षतिपूर्ति मागिएको हो ।
यसबीचमा करेन मकडूगलले पनि ट्रम्पसँग आफ्नो अफेयर रहेको भन्दै अदालतको ढोका ढक्ढक्याएकी थिइन् । उनले पनि नन डिस्क्लोजर अग्रीमेन्ट रद्द गराउने माग राखेकी थिइन् ।
यसअघि पोर्नस्टार स्टोर्मी डेनियल्सले ट्रम्पसँग सम्बन्ध रहेको दाबी गर्दै सम्झौता रद्द गर्ने माग गरेकी थिइन् ।
एजेन्सी