
काठमाडौं, २२ चैत– झण्डै ९ करोड प्रयोगकर्ताको डाटा चोरी भएको सामाजिक सञ्जाल फेसबुकले स्वीकारेको छ । ८ करोड ७० लाख भन्दा बढी आफ्ना प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने क्याम्ब्रिज एनालितिकाले अवैध रुपमा प्रयोग गरेको फेसबुकले जनाएको हो ।
बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएका हुन् ।
फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लगबाट यो आँकडा बाहिर आएको हो । फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुले प्रयोगकर्ताको जानकारी सुरक्षाका लागि धेरै गरेको र अझै धेरै गर्न बाँकी रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा जुकरबर्गले यसअघि फेसबुकले धेरै टुल्लस दिएको र प्रयोगकर्ताले नै त्यसको प्रयोग गर्दा ख्याल गर्नु पर्ने वा गर्छन् भन्ने सोचेको बताए । तर आफूहरुले राखेको सोच गलत साबित भएको र त्यसमै चुकेको उनले बताए ।
आन्तरिक रुपमा गरिएको अडिटबाट पछिल्लो समस्या बाहिर आएको पनि उनले बताए । युजर नेम, इमेल एड्रेस वा फोन नम्बर टाइप गरेर अरु प्रयोगकर्ता खोज्न मिल्ने फिचरका कारण धेरैले प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग गरिरहेको खुलेको उनले बताए । अहिले आफूहरुले त्यो सुविधामा कडाइ गरेको जुकरबर्गले बताएका छन् ।
डाटा चोरी भएको खुलासा भएपछि फेसबुकको केही समयदेखि आलोचना हुँदै आएको छ । केही वर्षदेखि क्याम्ब्रिज एनालिटिकाले करोडौं ब्यक्तिको जानकारी जम्मा गरेको थियो । लण्डनमा रहेको कम्पनिले ति जानकारी डिलिट गरेको जनाएको छ ।
च्यानल फोरका अनुसार केही जानकारी अहिले पनि खोज्नेक्रम जारी छ । जबकि क्याम्ब्रिज एनालिटिकाले आफूसँग भएको जानकारी नष्ट गरेको जनाएको छ ।