०९ साउन २०८३, शनिबार

महाकालीमा घाट बनाउन चार करोडको ठेक्का

चैत २२, २०७४
महाकालीमा घाट बनाउन चार करोडको ठेक्का

महेन्द्रनगर, २२ चैत– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीमा अन्त्येष्टि घाट बनाउने प्रक्रिया शुरु गरिएको छ । महाकाली नदीको ऐरीघाट निर्माण हुने अन्त्येष्टि घाटका लागि ठेक्का आव्हान गरिएको छ  । 

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि चार करोड ५० लाखको ठेक्का आव्हान गरेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले डिभिजन कार्यालयले ठेक्का आव्हान गरी अन्त्येष्टि घाट निर्माणको प्रक्रिया शुरु गरिएको बताए । ‘यो लामो समयदेखि माग हुँदै आएको एजेण्डा हो, अहिले टेण्डर भएको छ, अब सम्झौता गरी अघि बढ्छ,’ नगर प्रमुख विष्टले भने ।

तीन वर्षसम्म सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम अन्र्तगतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ । यस बाहेक कार्यक्रम अन्तर्गत विभिन्न वडामा सडक कालोपत्रेका योजना छन् । 

भीमदत्त नगरपालिकाको सहरी विकास शाखाका इन्जिनियर गोरख बहादुर सिंहले गुरुयोजना बनाएर अन्तेष्टि घाट निर्माणका लागि ठेक्का गरिएको बताए ।

‘अन्त्येष्टि घाट कस्तो बनाउने भन्ने गुरु योजना तयार गरी टेण्डर गरिएको छ,’ उनले भने, ‘अब योजान अनुसार घाट निर्माण कार्य शुरु हुन्छ ।’

चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका चार/चार घर हुने गुरु योजनामा उल्लेख गरिएको छ । यसैगरी हरियाली, आवतजावत गर्ने बाटो, नदी रोक्न पर्खाल लगायतका संरचना निर्माण गर्ने योजना छ ।

महाकाली परमधाम शान्ति घाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणको सपना पूरा हुन लागेको बताए । ‘महाकाली नदीमा घाट निर्माणका लागि वर्षौदेखि माग गर्दै आएका छौं,’ उनले भने, ‘यस पटक बल्ल पूरा हुने भयो । यसले खुसी छौ, योजना अनुसार राम्रो घाट बनोस् ।’

समितिले घाट निर्माणका लागि नगरपालिकालाई दबाव दिन तीन वर्ष अघि कुशको शव बनाएर नगरपालिका कार्यालयको कोठामा राखेका थियो । घाट निर्माण प्रक्रिया
शुरु गरिएपछि शव जलाउने तयारी गरिएको छ । ‘घाट निर्माणका लागि शव राखेका थियौ, अब प्रक्रिया शुुरु भएकाले जलाउँछौ,’ उनले भने ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशी लगायतले घाट निर्माणका लागि अभियान चलाएका थिए । 

२०६७ मा महाकाली परमधाम शान्ति घाट निर्माण समिति गठन गरिएको थियो । यसैबीच ऐरी घाटमा घाट निर्माण प्रक्रिया शुरु गरिएपछि तीन वर्षदेखि नगरपालिकाको कोठामा राखिएको कुशको शवको दाहसंस्कार गरिने भएको छ ।

महाकाली परमधाम शान्ति समितिले बुधबार महाकाली नदीमा शव जलाउन लागेको छ । अन्त्येष्टि घाट नभएसम्म शव नलजाउने माग सहित तीन वर्ष अघि कार्यालयको कोठामा राखिएको थियो । समितिका अध्यक्ष जोशी सहितले कपाल मुन्डन गरी शवलाई कोठामा राखेका थिए ।

समितिका अध्यक्ष जोशीले अन्त्येष्टि घाट निर्माणको प्रक्रिया शुरु गरिएकाले बुधबार शवको दाहसंस्कार गरिने बताए । ‘माग पूरा हुन लागेको छ, मेयर सापले पनि शव जलाउन आग्रह गर्नु भयो,’ उनले भने, ‘त्यसै अनुसार भोलि (बुधबार) शवको शव यात्रा गरी महाकालीमा अन्त्येष्टि गर्नेछौ ।’
 

salt training

कमेन्ट गर्नुहोस्