
काठमाडौं २२ चैत– तीनदिने राजकीय भ्रमणको शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् । ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल शुक्रवार बिहान ११ बजे दिल्ली पुग्ने कार्यक्रम छ ।
इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्ने तयारी रहेको दिल्लीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । भारत भ्रमणको समयमा प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा बस्नेछन् । भारतको राजधानी नयाँ दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका झण्डा फहराइएको छ ।
ओलीको पहिलो कार्यक्रम भारतका व्यापारीहरुसँगको अन्तक्र्रिया रहेको छ । भारतीय व्यापारीहरुसंगको छलफलपछि बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको महत्वपूर्ण भेटघाटका कार्यक्रम शनिवार हुनेछन् । प्रधानमन्त्री ओलीको सम्मानमा शनिवार बिहान राष्ट्रपति भवनमा राजकीय सम्मान (गार्ड अफ अनर) को कार्यक्रम हुनेछ ।
शनिवार नै प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । शुरुमा एक्ला एक्लै र पछि प्रतिनिधि मण्डलस्तरमा भेटवार्ता हुनेछ । भेटवार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
भेटपछि हैदरावाद हाउसमा मोदीले प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डललाई दिवा भोजको आयोजना गर्ने छन् । सोही दिन ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतले पनि ओलीसँग भेटवार्ता गर्नेछन् । शनिवार राति प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा ओली सहभागी हुनेछन् ।
भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओली पन्त नगरस्थित गोबिन्दबल्लव पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनेछन् । सो विश्वविद्यालयले ओलीलाई मानार्थ विद्यावारिधीबाट सम्मान गर्नेछ ।
पन्त नगरबाट दिल्ली फर्केर ओली विमानस्थलबाटै स्वदेश फर्किनेछन् । ओलीलाई ‘चीन परस्त’को बिल्ला भिराउने भारतीय मिडियाले उनको दिल्ली भ्रमणलाई महत्व दिएका छन् ।
भारत भ्रमणको पूर्वसन्ध्यामा ओलीले संसदमा गरेको सम्वोधनको समाचार प्रायजसो भारतीय मिडियाले लेखेका थिए । सम्वोधनका क्रममा ओलीले भ्रमणका क्रममा देशको शीर निहुरिने कुनै काम नगर्ने बताएका थिए । संसदमा बोल्दै ओलीले महाकालीमा बन्ने पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा छलफल हुने कार्ययोजना रहेपनि नयाँ सम्झौता नहुने बताएका थिए ।
प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री मातृका यादव, भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ दिल्ली जाँदैछन् ।
प्रधानमन्त्रीका साथ ९ जना सांसद, नेपाल सरकारका सचिव, व्यापारीहरु पनि भ्रमणमा सहभागी हुनेछन् । पहिलो पटक प्रधानमन्त्री बनेको समयमा ओलीले २०७२ फागुन ७ गतेदेखि भारत भ्रमण गरेका थिए ।