०६ असार २०८३, शनिबार

मुख्य समाचार : प्रधानमन्त्री अाज भारत प्रस्थान गर्दै, सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

मुख्य समाचार : प्रधानमन्त्री अाज भारत प्रस्थान गर्दै, सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

काठमाडौं, २३ चैत–प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज छिमेकी भारतको राजकीय भ्रमणमा जाँदै छन् ।     प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । 

काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।     नेपाल वायु सेवा निगमको नियमित उडानबाट बिहान ९ः०० बजे भारत प्रस्थान गर्ने छन् । 

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत छन् । निजी खर्चमा उद्योगी÷व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनिधि पनि सामेल हुनेछन् । 

कार्यक्रमअनुसार शनिबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने र महत्वपूर्ण विषयमा दुईपक्षीय सहमति गर्ने कार्यक्रम छ । सोही दिन पत्रकार सम्मेलनमार्फत दुई प्रधानमन्त्रीबीचका सहमति सार्वजनिक हुनेछ ।

अरुण तेस्रो प्राथमिकतामा– भारत भ्रमणका  क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने सम्भावना छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो परियोजनाको हैदरावाद हाउसबाट शिलान्यास गर्ने सम्भावना छ । कूल नौ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण शुरु भइसकेको छ ।

भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् ।

आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन बिहीबार साँझ शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताइन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको  भारत भ्रमणबाट दुईदेशबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको  राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

‘भारतसँग परस्पर सम्मानका आधारमा सम्बन्ध’– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सम्बन्ध परस्पर सम्मान र समानताका आधारमा बेग्लै उचाइमा पुग्ने बताएका छन् । भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले समानताको भावना  स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए । 

भारत भ्रमण हतारमा हुन लागेको भए पनि कुनै काम नबिगार्ने गरी प्रस्तुत हुने स्पष्ट गरे । 

पार्टी एकताका लागि संगठन परिचालन गर्ने– एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि आ–आफ्ना संगठन परिचालन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका लागि आ–आफ्ना भ्रातृ तथा शुभेच्छुक संगठन परिचालन गर्ने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणपछि विवादित विषय टुंगो लगाउने तयारी गरिएको उनले बताए ।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ अप्रीलकै दिन पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिइने बताए ।
 

स्थानीय तहमा कर्मचारी खटाइएकामा केन्द्रीय सरकारप्रति विरोध– केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेकामा ट्रेड युनियन संयुक्त समन्वय समितिले विरोध जनाएका छन् । समितिले पत्रकार सम्मेलन गरी स्थानीय तहलाई संविधानले  दिएको अधिकारमाथि  केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने जनाएको छ ।  

स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय सरकारले नमागीकनै केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी पठाउने अधिकार नभएको जनाउँदै सरकारको निर्णय संविधानको मर्मविपरीत भएको बताए ।

विधान तयार गर्ने जिम्मा लक्ष्मणलाल कर्णलाई– राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको विधान तयार गर्न सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मा दिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादवले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् । 

राजपाले सांसदहरूले दश हजारका दरले मासिक लेबी उठाउने निर्णय पनि गरेको छ । राजपाको संसदीय दलको बैठकले जेलमा रहेका सांसद रेशम चौधरीको सपथका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको राजपा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले जानकारी दिए ।
 

हिन्दू पर्व र एकता दिवसमा बिदा माग– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकले सचिवालय समितिमा तीन सदस्य थप गरेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रवक्ता राजेन्द्र गुरुङ (ओखलढुंगा) सहायक महामन्त्री विजयकला राई (खोटाङ) र नेता कृष्णबहादुर राउत (काठमाडौँ) लाई समितिमा मनोनयन गरेको छ । 

राष्ट्रिय एकता र  प्रजातन्त्र दिवस, घटस्थापना, कृष्णजन्माष्टमीलगायत पर्वमा सरकारले बिदा कटौती गरेकामा बैठकले असन्तोष व्यक्त गर्दै शदियौदेखि चलिआएको हिन्दू परम्परा र संस्कृतिसँग जोडिएका बिदा र एकता दिवसको बिदा कायम गराउन माग गरेको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग– चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा रु ३९ अर्ब रकम वितरण गर्नुपर्ने अनुमान गरे पनि रु ३६ अर्ब मात्र विनियोजन गरेकाले रकम अपुग भएको हो । 

“अपुग रकमका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसक्यौं” विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले भने, “अपुग रकम रु चार खर्ब ६१ करोड निकासाको प्रतिक्षामा छौँ ।”विभागले ९ किसिमका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

सरकारले ७० वर्ष नाघेकालाई वृद्धभत्ता प्रतिव्यक्ति रु एक हजार मासिक तथा औषधि उपचारका लागि एक हजार गरी जम्मा दुई हजार र ६० वर्ष नाघेका दलितलाई रु एक हजारका दरले तथा अविवाहित र सम्बन्ध विच्छेद गरी बसेका ६० वर्षमाथिका महिलालाई रु एक हजारका दरले भत्ता दिँदै आएको छ । 

हेडक्वार्टर तानिए एसएसपी– महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएको छ । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेको भनिएका एसएसपी लोहनीलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।

सो प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता रहेको खुलेपछि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न छुट्टा–छुट्टै छानबीन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा एसएसपी लोहनीको संलग्ना देखिएको प्रारम्भिक प्रतिवेदन तयार गरेपछि  हेडक्वार्टर तानिएको प्रहरी स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले सहसचिव ईश्वरी पौडेल तथा प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको संयोजकत्वमा बेग्लाबेग्लै छानबीन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा संलगन रहेको भन्ने आशंकामा एसएसपी लोहनीसहित प्रहरी अधिकारी र कर्मचारीमाथि अनुसन्धान गरेको थियो ।

मोरङको उर्लाबारी नगरपालिका– ७ का ३६ वर्षीय सनम शाक्य २१ फागुनमा मृत भेटिएका थिए । स्कर्पियो गाडीमा मृत अवस्थामा भेटिएका शाक्यलाई सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । 
तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेको मोरङ प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
 

बजेटको तयारीमा प्रदेश सरकार– प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४÷७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले आज पत्रकारहरूलाई जानकारी दिँदै बजेट  तीन महिनाको हुने बताए । 

छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित  हुने जानकारी उनले दिए । मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताए ।

आजबाट सरकारी कम्पनीको सिटामोल बजारमा– नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल आजबाट बजारमा आउने भएको छ । गत फागुन ९ गतेबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन शुरु गरेको लिमिटेडले १० लाख सिटामोल बजारमा लैजान लागेको हो । 

करिब ५ लाख चक्की प्याकिङ भइसकेको र ५ लाख चक्की मागअनुसार प्याकिङ हुने क्रममा रहेको महाप्रबन्धक रोभसकुशम सुवेदीले जानकारी दिए । लिमिटेडले आज वीर अस्पताललाई करिब ५० हजार सिटामोल बिक्री गरेर बजारमा प्रवेश गर्ने भएको छ । सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ । 
 

सलमान खानलाई पााँ वर्षको जले सजाय– बहुचर्चित कालो हरिण शिकार अभियोगमा भारतिय अभिनेता सलमान खान दोषी ठहर भएका छन् । सलमानलाई पाँच वर्षको कैद सजाय सुनाइएको छ भने १० हजार भारु जरिवाना लगाइएको छ । 

जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हिरण मारेको आरोप लागेको थियो । अभिनेता खानसहित अरु पाँच जनामाथि मुद्दा दायर भएको थियो । सलमान खानसँगै अभिनेता सैफ अली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि यो घटनामा जोडिएको छ । अरु सबैलाई आरोप मुक्त गरिएको छ । 

धनगढी प्रिमियर लिगः महेन्द्रनगर र विराटनगर विजयी– रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स विजयी भएका छन् । महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले तथा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्यो । 

संघीय प्रहरी इकाइ कार्यालय धनगढीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रन बनायो । १४५ रनको विजय लक्ष्य पाएको महेन्द्रनगरले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

यसअघि भएको अर्को खेलमा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्यो । टस जितेर धनगढीले फिल्डिङ राजेपछि विराटनगरले ब्याटिङ गर्दै १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । 

१२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा नौ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो । 

salt training

कमेन्ट गर्नुहोस्