२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले आजदेखि गर्दैछन् भारतको राजकीय भ्रमण

प्रधानमन्त्री ओलीले आजदेखि गर्दैछन् भारतको राजकीय भ्रमण

काठमाडौँ, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्सीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा निस्किदै छन् । 

    प्रधानमन्त्रीमा निर्वाचित भएको  ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । ओलीको भ्रमण टोलीमा काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारी सहभागि हुनेछन् । 
    ओली नेपाल वायु सेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान ९ः०० बजे भारत प्रस्थान गर्नेछन् । 
यस्तो छ कार्यक्रम 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा  विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकैया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र  भारतीय काँग्रेस आईका नेतासँग पनि भेटवार्ता हुनेछ ।

    कार्यक्रमअनुसार शनिबार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीबीच भेटवार्ता हुने र महत्वपूर्ण विषयमा दुईपक्षीय सहमति गर्ने कार्यक्रम छ । सोही दिन पत्रकार सम्मेलनमार्फत दुई प्रधानमन्त्रीबीचका सहमति सार्वजनिक हुनेछ ।
    
    प्रधानमन्त्री ओलीले भारतको उत्तराखण्डको  गोविन्ददेव पन्त कृषि तथा पाविधि विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि उपाधि दिने छ । सो विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले वृक्षरोपण गर्नेछन् भने  कृषि र प्रविधिको सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । 


भारत भ्रमणका  क्रममा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने सम्भावना छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो परियोजनाको हैदरावाद हाउसबाट शिलान्यास गर्ने सम्भावना छ । 

भ्रमण दलमा को–को ?
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत छन् । 

    भ्रमण दलमा संघीय संसद्का सदस्यहरू शरत्सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव सहभागी छन् । 

    प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आप्ूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महत्तो पनि भ्रमण रहनेछन् । 
 भ्रमण दलमा पहिलो पटक कला क्षेत्रबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसी रहनुभएको छ । यसबाहेक निजी खर्चमा उद्योगी÷व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनिधि सामेल हुनेछन् । 

     राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालका सञ्चारकर्मीको भ्रमण दलमा सहभागिता रहेको छ । यस्तै नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौ जनाको सहभागिता रहनेछ । 


    परराष्ट्र सचिव शंकरदास बैरागीका अनुसार भारत सरकारले विशिष्ट पाहुनाका रूपमा प्रधानमन्त्री ओलीलाई त्यहाँको राष्ट्रपति भवनमा विशेष आतिथ्यता प्रदान गर्नेछ । प्रधानमन्त्रीको यस पटकको पहिलो विदेश भ्रमणलाई विशेष बनाउन नेपाल र भारतका उच्च अधिकारीले भरमग्दुर पहल गरेका छन् । 

    राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीसहित १६ जनालाई विशेष आथित्यताको प्रबन्ध मिलाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्