०१ असार २०८३, सोमबार

नेपालसँगको १९५० को सन्धि पुनरावलोकन गर्न मोदी तयार

नेपालसँगको १९५० को सन्धि पुनरावलोकन गर्न मोदी तयार

काठमाडौं, २४ चैत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि तयार भएका छन् । शुक्रबार राति नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो सरकारी निवासमा ‘वान टु वान’ वार्ता गरेका भारतीय प्रधानमन्त्रीले सन्धि पुनरावलोकन गर्न सकारात्मक रहेको ओलीलाई बताएको स्रोतलाई उल्लेख गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । 

१९५० को सन्धिको पुनरावलोकन र संशोधन ओलीको मुख्य एजेन्डा हो जसलाई उनले चुनावका बेला पनि भनेका थिए, हामीले पनि यसलाई गम्भीरतका साथ लिएका छौं, उच्च स्रोतले भन्यो । शुक्रवार रातिको छलफलमा पनि यस विषयमा दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको दाबी गरिएको छ । 

ओली र मोदीबीच शनिवार हुने छलफलका क्रममा नेपालसम्म रेलवे जोड्ने, कृषि अनुसन्धान, शिक्षा लगातका अन्य क्षेत्रमा भारतले सहयोगको घोषणा हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यसअघि शुक्रवार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि संक्षिप्त प्र्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटघाट मुलुकलाई समृद्ध बनाउनेमा केन्द्रित र फलदायी रहेको बताएका थिए ।  

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘प्रधानमन्त्री मोदीसँग नेपाल–भारत सम्बन्धलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्नेमा छलफल भयो । उहाँ पनि नेपालसँग राम्रो सम्बन्ध राखेर भारत अघि बढ्न चाहनेमा स्पष्ट हुुनुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध सधैं मित्रभावमा र सबै स्तरमा अघि बढाउनेबारे समेत छलफल भएको जानकारी दिए । ‘नेपाल र भारतबीच असमझदारी यसअघि नै हटिसकेको छ,’ उनले थपे, ‘दुई देशबीचको पुरानो र घनिष्ट सम्बन्धलाई कसरी एकअर्काका परिपूरकका रूपमा थप प्रगाढ बनाउने भन्नेमा छलफल बढी केन्द्रित भयो ।’

नेपालका प्रधानमन्त्री केपी ओली तीन दिने राजकिय भ्रमणका लागि भारतमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्