
नयाँ दिल्ली, २४ चैत– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् ।
भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रदान गरिएको ‘गार्ड अफ अनर’ गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भारत भ्रमणमा आएको बताए ।
भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले त्यसका लागि समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी गराए । सो अवसरमा प्रधानमन्त्री ओलीलाई मोदीले स्वागत गरेका थिए । नेपाल र भारतका राष्ट्रिय धून पनि बजाइएको थियो ।
गार्ड अफ अनर ग्रहणपछि प्रधानमन्त्री ओलीले महात्मागान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।