![जनकपुर आएका भारतीय प्रधानमन्त्रीका भाइ भन्छन्- 'नेपाल-भारत अलग हुनै सक्दैनन्' [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Prhlad_Modi_a5Hjlowa4u.png)
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका छन् । जनकपुरधाममा शनिबार भेटिएका मोदीसँ लोकान्तरका लागि अजय अनुरागीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :
नेपाल-भारत सम्बन्धलाई कसरी हेर्नुभएको छ ?
नेपाल र भारत एकअर्कासँग पारिवारिक सम्बन्धजस्तै जोडिएका छन् । दुवैको आ–आफ्नो सीमा रेखा छ, तर दुवै देश सांस्कृतिक सम्बन्धका कारण अविभाजित नै छन् जस्तो मलाई लाग्दछ ।
पछिल्लो केही वर्षयता सम्बन्ध सुमधुर रहन सकेन नि !
राजनीतिक कुरा अलग हो । दुवै देशका आ–आफ्ना राजनीतिक कारणहरू हुन सक्छन्, तर सांस्कृतिक कुरा फेरि अलग कुरा हो । जसरी पानीमा डण्डा बजार्दा पानी अलग हुँदैन, त्यसैगरी राजनीतिले मात्र पनि दुई देशलाई टाढा लैजान सक्दैन । सांस्कृतिक धरोहर जहाँ एकअर्कासँग जोडिएको छ, त्यहाँ राजनीतिक सोचका कारण अलग गर्न सकिँदैन ।
नेपालका प्रधानमन्त्री भारत भ्रमणमा हुनुहुनन्छ, सम्बन्धमा केही सुधार आएको आभास हुँदैछ, कस्तो लागिरहेको छ ?
यो त खुसीको कुरा हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वसुदैव कुटुम्बकमको सिद्धान्तअनुसार पूरा विश्वसँग आफ्नो विदेश नीतिलाई अगाडि बढाइरहनुभएको छ । सांस्कृतिक धरोहरका कारण जोडिएकाले पनि भारतले सधैं नेपालको हित र समृद्धि चाहन्छ । जसका कारण नेपालसँग भारतको अत्यन्तै निकट सम्बन्ध रहँदै आएको छ ।
भारतीय प्रधानमन्त्री मोदी नेपाल फेरि हिन्दूराष्ट्र बनोस् भन्ने चाहनुहुन्छ भनिन्छ, तपाईंको धारणा के छ ?
यो नेपालका जनताले सोच्ने कुरा हो । यसको उत्तर दिनलायक मानिस होइन म ।
प्रधानमन्त्री मोदी पनि जानकी मन्दिर दर्शनका लागि आउने भन्नुभएको थियो, अहिलेसम्म आउनुभएको छैन, किन होला ?
यो प्रश्न उहाँलाई नै सोध्नुस् । जहाँसम्म परिवारको कुरा हो, म त आएकै छु ।