
काठमाडौं — संसारमा धनीहरूले जे कुराको पनि भाउ बढाइदिएका हुन्छन् । बेस्सरी पैसा कमाएर कहाँ खर्च गरौं भनेर बस्ने मान्छे पनि बग्रेल्ती भेटिन थालेका छन् ।
हामीजस्ता साधारण मान्छेको कैयौं महिनाको तलब त यिनीहरूले एउट खानामा खर्च गरिदिन्छन् । तल केही खानाको बारेमा लेखिएको छ जसको मूल्य सुनेर हामी त बेहोशै हुन सक्छौं :
गोल्डेन क्यानोली यो एकखाले केक हो जुन श्याम्पेन नाम गरेको रक्सीसँग सर्भ गरिन्छ । यसको मूल्य लगभग २८ लाख रुपैयाँ छ । अमेरिकाको कान्सास शहरको ज्यास्पर्स रेस्टुरेन्टमा किन्न पाइन्छ यो ।
ह्यामबर्गर प्याट्टी यसको मूल्य लगभग तीन करोड ५५ लाख रुपैयाँ छ । नेदरल्यान्ड्सको मास्ट्रिक्ट विश्वविद्यालयका प्राध्यापक मार्क पोस्टले प्रयोगशालामा स्टेम कोषिकाबाट ह्यामबर्गर प्याट्टी बनाएका थिए ।
रेमन नूडल्स यसको मूल्य लगभग ११ हजार ७६० रुपैयाँ छ । जापानको राजधानी टोकियोको फुजिमाकी गेकियो रेस्टुराँमा पाइन्छ यो । यसमा कम्तीमा पनि २० वटा मसला र अन्य कुरा हालिएको रेस्टुराँले दाबी गरेको छ ।
हिमतालको पानी संसारको सबभन्दा महंगो पानीको बोतलको मूल्य करीब तीन लाख ८५ हजार रुपैयाँ छ । पाओलो दी वराचीले फिजी द्वीपमा रहेका झरनाको पानी र आइसल्यान्डको हिमतालको पानीको प्रयोग गरी त्यसमा पाँच मिलिग्राम सुनको भस्म मिसाएर बोतलमा बन्द गरेका हुन् ।
लुवाक कफी इन्डोनेसियामा पाइने लुवाक नाम गरेको जनावरको मलबाट यो कफी बनाइएको हो । लुवाक बिरालो जस्तै देखिन्छ । एक कप कफीको मूल्य लगभग ३२ सय रुपैयाँ छ ।
बीबीसी