०५ असार २०८३, शुक्रबार

मुख्य समाचार : स्वेतपत्रप्रति कांग्रेसको कडा टिप्पणी, ५ लाख घुससहित दुई कर्मचारी पक्राउ

मुख्य समाचार : स्वेतपत्रप्रति कांग्रेसको कडा टिप्पणी, ५ लाख घुससहित दुई कर्मचारी पक्राउ

काठमाडौं, २७ चैत– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले केही दिन अघि सार्वजनिक गरेको स्वेतपत्र बारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्वेतपत्रलाई लाल पत्रको संज्ञा दिएको छ । 

असंगतिपूर्ण तथ्यांकहरु र निराशाजनक विवरण राखेर सरकारले श्वेतपत्रको नाममा लालपत्र जारी गरेको कांग्रेसले आरोप लगाएको हो । स्वेतपत्र अबौद्धिक र अव्यवसायिक मुचुल्का रहेको कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सकारात्मक आँकडामा आँखा चिम्लेर श्वेतपत्र आएको र सरकार चुनावी बाचाबाट भाग्न खोजेको आरोप लगाए ।

शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफू अनुकुलका तथ्यांकहरु सार्वजनिक गरेको आरोप लगाए । पत्रकार सम्मेलनमा कांग्रेस नेता एवम् पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा आएपछि सबै राम्रो मात्र देख्ने प्रवृत्तिले देशलाई बलियो नभइ कमजोर बनाएको टिप्पणी गरे । उनले नेपाल–भारत सम्बन्ध प्रचण्ड र देउवा सरकारकै पालामा ट्रयाकमा आइसकेको बताए । 

माओवादी मन्त्रीको गुनासो– नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले सचिव सरुवाको विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष गुनासो गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी निर्णय गर्दै सचिव सरुवा गरेको भन्दै माओवादी मन्त्रीले पार्टी नेतृत्व समक्ष गुनासो गरेका हुन् ।

सचिव सरुवा प्रधानमन्त्रीको अधिकार भए पनि सरकारमा सहभागी माओवादीसँग कुनै सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढेको माओवादी मन्त्रीहरुको गुनासो छ । छलफलमा पार्टी अध्यक्ष प्रचण्डले सचिव सरुवाका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै पार्टी एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढिरहेकाले सो विषयमा धेरै असन्तुष्टि नजनाउन मन्त्रीहरुलाई आग्रह गरे । 

५ लाख घुससहित दुई जना पक्राउ– काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत र एकजना इन्जिनियर ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठलाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति ८ बजे रंगेहात पक्राउ गरेको हो । 

नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय छेउमै सडकमा गाडीसहित प्रशासकीय अधिकृत अधिकारी र इन्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता दीर्घराज मैनालीले लोकान्तरलाई बताए । 

यातायात व्यवसायीको घोषणा– यातायात व्यवस्थापन निर्देशिका अनुचित ढंगले संशोधन गरिएको भन्दै राष्ट्रिय यातायात व्यवसायी महासंघले विरोध जनाएको छ । यातायात व्यवस्था विभागले गरेको निर्देशिका संशोधनको सम्वन्धमा छलफल गर्न महासंघको सोमबार बसेको केन्द्रीय परिषद बैठकले  देशभर विरोधको माहोल बनाउनेगरी अघि बढ्ने निर्णय गरेको  छ ।

यातायात व्यवस्था विभागले सरोकारवालासँग कुनै संवाद नै नगरी एकपक्षीय रुपमा यातायात व्यवस्थापन कार्यविधि संशोधन गर्नु अनुचित भएको राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ । 


मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित– प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । 

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ ।  प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते बिहान ११ बजे बस्नेछ । 

नीति तथा कार्यक्रम स्वीकृत– प्रदेश नं ७ को मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश सरकारको सार्वजनिक लिखत प्रमाणीकरण गर्ने कार्यविधिसम्बन्धी विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।

बैठकले प्रदेशमा हालैको असिनापानी, खडेरी, चट्याङजस्ता प्राकृतिक प्रकोपबाट पीडितको विवरण संकलन गरी तिनलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ ।  यस्तै खारेजीमा पर्न लागेका प्रदेशका सबै नौ जिल्लास्थित जिल्ला समन्वय समितिअन्तर्गतका जिल्ला प्राविधिक कार्यालयमार्फत  प्रदेश सरकारका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको अवस्थामा आउँदो असार मसान्तसम्म ती कार्यालय कायम राख्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

स्थायी राजधानी भक्तपुरलाई बनाउन प्रस्ताव दर्ता– प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै सोमबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई प्रदेश नं. ३ को स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश ५ः ‘समृद्ध प्रदेश, खुशी जनता’ को लक्ष्य– प्रदेश नं ५ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभामा प्रस्तुत गरेका थिए । 

नीति तथा कार्यक्रममा प्रदेश ५ लाई आर्थिक र सामाजिक रुपले समृद्ध प्रदेश बनाउने लक्ष्यका साथ ‘समृद्ध प्रदेश, खुशी जनता’ को लक्ष्य राखिएको छ । त्यस्तै कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गरिने छ । सरकारले प्रादेशिक विकासको अवधारणा तयार गरी  अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने विषयलाई उच्च प्राथमिकता राखेको छ ।

विदा कटौती गर्ने निर्णय फिर्ता लिन माग– अादिवासी जनजाति महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै दबावमुलक आन्दोलन घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन गर्ने, धर्ना दिनेलगायत छन् ।

विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई– विराट गोल्डकप–२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा सोमबार साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–० ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो । 

खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले खेलको ७५ मिनेटमा पेनाल्टी गोल गरेको थियो । थ्रीस्टारका विमल घर्ती मगरले पेनाल्टीलाई गोलमा परिणत गरे । खेलको ८२ औँ मिनेटमा विमलले पुनः गोल गरेपछि थ्रीस्टारले तीन गोलको अग्रता कायम गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्