२१ जेठ २०८३, बिहीबार

झम्के साँझमा बिदा भए प्रकाश

चैत २८, २०७४
झम्के साँझमा बिदा भए प्रकाश
फाइल तस्बिर

काठमाडौं, २८ चैत– नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालले बुधवारबाट अवकाश पाएका छन् । ३० वर्ष अगाडि २०४४ चैत २९ गते प्रहरी निरीक्षक (इन्सिपेक्टर)का रुपमा प्रहरी सेवामा प्रवेश गरेका अर्याल गत वर्ष (२०७३) चैत २८ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा नियुक्त (बढुवा) भएका थिए । 

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेर अर्यालले अनिवार्य अवकाश पाएका हुन् । 

महानिरीक्षक अर्यालसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पनि बुधवारबाट अनिवार्य अवकाश पाएका छन् । 

एआईजीहरु जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ र पशुपति उपाध्यायले अनिवार्य अवकाश पाएका हुन् । 

त्यस्तै डिआईजीहरुमा गणेश केसी,  केदारमानसिंह भण्डारी, रमेश रञ्जित, सुदीप आचार्य, रामेन्द्र सिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुष्कल रेग्मीले अवकाश पाएका छन् । अवकाश पाउने प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा विष्णुहरि गौतम छन् । 

अर्यालको सहज बिदाइ

गत वर्ष फागुन २ गते तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले अनिवार्य अवकाश पाउँदा नयाँ महानिरीक्षक को हुने भन्ने नै टुंगो लागेको थिएन । अघिल्लो दिन (फागुन १ गते) बसेको मन्त्रिपरिषद बैठकले जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै चन्दलाई आईजी हुनबाट राकेको थियो । 

आईजी बनाइ पाउँ भन्दै नवराज सिलवाल अदालत पुगे । अदालतले बरियताका आधारमा एक नम्बरमा रहेका व्यक्तिलाई आईजी बनाउन आदेश जारी गरेपछि पहिलो नम्बरमा रहेका प्रकाश अर्याल आईजी बन्न पुगे ।

विभिन्न विवाद झेल्दै आईजी बन्न पुगेका अर्यालको कार्यकालमा देशमा तीन तहको निर्वाचन सम्पन्न भएको छ । साथै संविधान कार्यान्वयनको चरण पूरा भएर देश नयाँ दिशामा अगाडि बढेको छ । 

प्रकाश अर्याल प्रहरी सेवाबाट बिदाइ भएर घर फर्किँदा बुधवार साँझको ८ बजिसकेकाे थियो । आफ्नै बिदाइ समारोहमा उपस्थित अर्याल गेम जिताएर फर्किएको टिमका क्याप्टेन जस्तो आत्मविश्वासी देखिन्थे । सायद उनी आफूले सफलतापूवर्क जिम्मेवारी पूरा गरेको ठानिरहेका थिए ।   

अर्यालयको बिदाइ कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरु उनको सहज बिदाइ भएको बताइरहेका थिए । 

‘जस्तोसुकै विवाद झेलेर आएपनि उहाँले प्रहरी संगठनलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रयास गर्नुभयो,’ अर्यालको बिदाइ समारोहमा भेटिएका एक प्रहरी अधिकारीले भने, ‘उहाँ पनि आफ्नो सेवाअवधि र आफूले निर्वाह गरेको जिम्मेवारबाट सन्तुष्ट हुनुहुन्छ होला ।’
 

salt training

कमेन्ट गर्नुहोस्