३१ जेठ २०८३, आइतबार

खुमबहादुर खड्कालाई यसरी सम्झिए  देउवाले

खुमबहादुर खड्कालाई यसरी सम्झिए  देउवाले

दाङ, २८ चैत - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभएको छ । 

नेका दाङले आज गृहजिल्ला दाङको सतवरियामा १३औँ पुण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा सभापति देउवाले सो कुरा बताउनुभएको हो । 

सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक नेता गुमाएको बताउनुभयो । 

“स्व खड्काको निधनले काँग्रेस पार्टीलाई मात्र होइन मुलुकलाई नै क्षति पुगेको छ, उहाँ मुलुकका एक अनुभवी नेता हुनुहुन्थ्यो, उहाँ एक निडर र विकासप्रेमी जनताको नेता हुनुहुन्थ्यो,” सभापति देउवाले भन्नुभयो । 
श्रद्धाञ्जलि सभामा पार्टी महामन्त्री डा शशाङ्क कोइरालाले बिपीका चेला स्व खड्काका विचारलाई आत्मसात् गरेर काँग्रेस अगाडि बढ्ने बताउनुभयो । कोइरालाले खड्काको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पनि बताउनुभयो । 
त्यस्तै, पार्टी केन्द्रीय सदस्य शेखर कोइराला, डा प्रकाशशरण महत, दीपक गिरी, पार्वती डिसी चौधरी, किशोर राठोरलगायतका नेता कार्यकर्ताले खड्काको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै उहाँका विचारलाई काँग्रेसलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको थियो । 
त्यस्तै नेकपा (एमाले) दाङका अध्यक्ष टीकाराम खड्काले खुमबहादुर सबैका नेता र विकासका सारथी भएको बताउनुभयो । 
सभामा एकीकृत माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्यले दाङले एक विकास प्रेमी नेता गुमाएको बताउनुभयो । काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा स्व खड्काका छोरा अनुराग खड्काले आफ्ना बुबाका सपना पूरा गर्न आफू राजनीतिमा आउने घोषणा गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्