२५ असार २०८३, बिहीबार

दाइजो नल्याउँदा तीन महिनाकी गर्भवती घरनिकाला

चैत २९, २०७४
दाइजो नल्याउँदा तीन महिनाकी गर्भवती घरनिकाला

बुटवल, २९ चैत– दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो।

मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागी विवाह गरेकी थिइन्। माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिनदेखि नै यातना पाएकी उनी सहनै नसक्ने भएपछि प्रहरीमा उजुरी दिएकी हुन्। 

‘बिहे गरेर घर आएको तीन दिनबाटै पिटाइ खाएकी हुँ’, उनले भनिन्, ‘सहनै नसक्ने भएपछि प्रहरीलाई खबर गरें।’ मादकपदार्थ सेवन गर्ने श्रीमानले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ। बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन्।

कक्षा १० पढ्दै गर्दा बिहे गरेकी उनलाई घरबाटै निस्कन यसअघिदेखि नै धम्की दिँदै आएका थिए। दुई दिनदेखि आफन्तको घरमा आश्रय लिएकी उनले आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन माग गरेकी छन्।

इप्रका सालझन्डीका प्रहरी निरीक्षक दीपेश बस्यालले प्रहरीले श्रीमान्– श्रीमतीबीच मिलाप गराउन प्रयत्न गरेको बताए। ‘हामीले पहिलो उजुरीपछि नै अब हिंसा नगर्ने सहमति गरेर पठाएका हौं’, उनले भने।

सैनामैना नगरपालिका–६ का वडाध्यक्ष वसन्त पाण्डेले तीन महिनाको गर्भ रहेकाले घटनालाई सकभर मिलाउने प्रयास गरिएको बताए।, अन्नपूर्ण पोस्टमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्