काठमाडौं, २७ मंसिर — तपाईंलाई अचम्म लाग्न सक्छ तर एउटा देशले आफूसँग भएको फोहोर सकिएकाले अन्य देशबाट मगाउने तयारी गरेको छ ।

युरोपेली मुलुक स्विडेनमा बाहिर फाल्ने फोहोर नै हुँदैन । अनि उसले अर्को देशबाट फोहोर मगाउँदैछ । फोहोरबाट बिजुली बनाउने भएकाले स्विडेनलाई फोहोर चाहिएको हो ।
आफ्ना रिसाइक्लिङ प्लान्ट चलाइराख्नका लागि स्विडेनलाई फोहोर चाहिएको छ । स्टकमा भएको फोहोर सकिएकाले उसले बेलायत लगायत अन्य देशसँग सम्पर्क गरेर फोहोर मगाइरहेको छ ।
डिजेल र पेट्रोल जस्ता परम्परागत इन्धनको प्रयोग गर्ने मान्छेलाई भारी कर लगाएकाले स्विडेनमा प्राकृतिक ऊर्जा साधनको प्रयोग हुन्छ । प्रकृतिको महत्वलाई बुझेका स्विडिशहरू त्यही अनुसार वस्तुको प्रयोग गर्छन् ।
अचम्मको कुरा के भने स्विडनका घरहरूमा एक प्रतिशत मात्र फोहोर निस्कन्छ । रिसाइक्लिङ सिस्टमले परिष्कृत तवरले काम गर्ने भएकाले घरबाट निस्कने एक प्रतिशत मात्र फोहोर डम्पिङ साइटमा पुग्छन् ।
स्थानीयवासीहरूलाई घरबाहिर फोहोर नफाल्न सचेत गराइएको छ । फालिएको फोहोरबाट ऊर्जा पैदा गरेर नेसनल हिटिङ नेटवर्कमा जोडिन्छ जसका कारण कडा जाडोमा सबै घरमा बिजुली पुग्छ ।
एजेन्सी