१० असार २०८३, बुधबार

भारतमा प्रतिबन्धित भारुको नेपालमा कारोबार, ५०० भारुको मूल्य २७५ नेरु

चैत २९, २०७४
भारतमा प्रतिबन्धित भारुको नेपालमा कारोबार, ५०० भारुको मूल्य २७५ नेरु

काठमाडौं, २९ चैत– सन् २०१६ को नोभेम्बर १० देखि भारतमा प्रतिबन्धित भारतीय रुपैयाँ (भारु)को अहिले पनि नेपालमा कारोबार भइरहेको खुलेको छ । 

राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा प्रतिबन्धित भारुको कारोबार भइरहेको प्रहरीले फेला पारेको छ । प्रहरीले बुधवार राति मात्रै काठमाडौंबाट करिब ५० लाख प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ ।

भारतमा डेढ वर्ष पहिले नै प्रतिबन्धित भारतीय रुपैयाँ नेपाल ल्याएर अवैध रुपमा कारोबार थालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार ५०० भारुको नोट नेपालमा २२५ देखि २७५ रुपैयाँमा बिक्री हुने गरेको छ । 
‘भारतमा प्रतिबन्धित भारतीय ५०० र १००० दरका नोटको नेपालमा कारोबार भइरहेको भन्ने सूचना पहिले नै मिलेको थियो,’ एसएसपी पोखरेलले भने, ‘त्यस्ता नोटलाई नियन्त्रणमा लिन सक्रियता बढाउँदा अहिले ५० लाख बराबरका ५०० र १००० दरका भारु नोट बरामद गरेका छौं ।’

प्रहरीले कूल ४९ लाख ३१ हजार ५०० भारतीय रुपैयाँ बराबरका भारु नोट बरामद गरेको हो । जसमा १००० दरका २ हजार २ सय ६ थान र ५०० दरका ५ हजार ४ सय ५१ थान नोट छन् । 

प्रहरीले प्रतिबन्धित भारतीय नोटसँगै २ जना नेपालीलाई पनि पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ का ५३ वर्षीय सुनिल देव वैश्य र नुवकोटको शिवपुरी गाउँपालिका–५ का ५० वर्षीय चेत बहादुर नेपाली प्रतिबन्धित भारुसहित पक्राउ परेका हुन् । 

पक्राउ परेका सुनिल देव वैश्य कपडा व्यापारी रहेको खुलेको छ । उनले कपडाको व्यापार गर्न आफूले भारुसटही गरेको प्रहरीसमक्ष बयान दिएका छन् । चेतबहादुर नेपाली भने पूर्वमाओवादी लडाकु रहेको खुलेको छ । 

नेपाल सरकारका नाममा भारुको कारोबार

नेपालमा भारुको कारोबारमा भारतीय नागरिकको बढी सक्रियता देखिएको छ । भारतमा ‘कालो धन’ लुकाएर राखेका व्यक्तिले आफूसँग रहेको प्रतिबन्धित भारु आधाभन्दा पनि कम मूल्यमा नेपाल पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

‘भारु प्रतिबन्ध हुनु अगाडि ठूलो मात्रामा पैसा राखेका व्यक्तिले प्रतिबन्धित भारुको कारोबारका लागि नेपाली बजार प्रयोग गरिरहेका छन्,’ प्रहरी स्रोत भन्छ, ‘नेपाल सरकारले आफ्नो देशमा रहेका प्रतिबन्धित भारु साट्ने विषयमा भारतसँग कुराकानी गरिरहेका बेला त्यस्ता भारु नोट नेपाल आएको देखिन्छ ।’

‘तिमिहरुले किनेको भारु नेपाल सरकारले भारत सरकारसँग साटिदिन्छ भन्दै नेपाली व्यापारीलाई भारु बेचिएको देखिन्छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘सरकारले साँट्ने भन्ने सुनेपछि नेपाली व्यापारीले पनि आधाभन्दा कम मूल्यमा पाएका कारण भारु लिएका रहेछन् ।’

भारतीय विधायक समेत भारु तस्करीमा

प्रहरी स्रोतका अनुसार प्रतिबन्धित भारतीय नोट नेपाली बजारमा पठाउने कार्यमा भारतका केही विधायकको समेत संलग्नता देखिन्छ । भारतको बिहार राज्यको विधानसभाका केही विधायकहरुले सीमा क्षेत्रमा व्यापार गर्ने नेपाली व्यापारीको प्रयोग गरी नेपालमा भारु तस्करी गरेको प्रहरी स्रोतले जनाएको छ । 

‘भारतीय उच्च अधिकारी र विधायकहरुले नै प्रतिबन्धित भारु नेपालमा बिक्री गरेको सूचना पाएका छौं,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘यस बारेमा बिस्तृत रुपमा अनुसन्धान भइरहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्