०७ साउन २०८३, बिहीबार

पुरुष बराबर बोल्न नदिएको भन्दै महिला सांसद असन्तुष्ट

चैत ३०, २०७४
पुरुष बराबर बोल्न नदिएको भन्दै महिला सांसद असन्तुष्ट

धनगढी, ३० चैत– बोल्ने समयमा विभेद गरेको भन्दै प्रदेश नं. ७ का महिला सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे धारणा राख्ने क्रममा पुरुष सांसदको तुलनामा कम समय दिएको भन्दै महिला सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । प्रदेश प्रमुख मोहनराज मल्लले चैत २८ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेयता सांसदहरुले धारणा राखिरहेका छन् ।

संसदमा धारणा राख्ने महिला सांसदहरुले दलभित्रै विभेद भएको पनि गुनासो गरे । नेकपा एमालेकी सांसद पूर्णा जोशीले आफूहरुले दावी गरेको समय कटौती गरेर बोल्ने समय दिएको बताइन् । उनले आफु १० मिनेट समय मागेपनि ८ मिनेट मात्रै बोल्न दिएको तर सहकर्मी पुरुष सांसदहरुलाई भने बढी दिएको उनको गुनासो छ ।

संसद सचिवालयका अनुसार संसदको कार्य व्यवस्था परामर्श समितिले ५ घण्टा चल्ने संसद बैठकलाई बिहीबार ३ घण्टा र शुक्रबार २ घण्टासम्म चलाउने निर्णय गरेको थियो । जुन समयलाई राजनीतिक दलको सिट संख्याको आधारमा समय विभाजन गरिएको संसद सचिवालयका साचिव बालराम शर्माले जानकारी दिए । 

सचिव शर्माको अनुसार ५ घण्टाको अवधिमा नेकपा एमालेलाई १४० मिनेट, नेकपा (माओवादी केन्द्र)लाई ८० मिनेट, नेपाली काँग्रेसलाई ७० मिनेट र राजपालाई १५ मिनेट बोल्ने समय विभाजन गरिएको थियो । पार्टी भित्र कुन सांसदले कति बोल्ने भन्नेबारे पार्टीको सचेतकमा भर पर्ने उनको भनाइ छ । 

सांसदहरुले खर्चेको समय

बिहीवार बसेको संसद बैठकमा सांसद अर्चना गहतराज ५ मिनेट, अमर बहादुर साउँद १० मिनेट, उमा बादी ५ मिनेट, कर्ण मल्ल १० मिनेट, कुन्ती जोशी ५ मिनेट, नन्द कुमारी बम ५ मिनेट, कुलबीर चौधरी १० मिनेट, कृष्णबहादुर चौधरी ६ मिनेट, चुनकुमारी चौधरी ८ मिनेट, टेक बहादुर रैका आउजी ५ मिनेट, डिल्लीराज पन्त ५ मिनेट, दिव्येश्वरी शाह ५ मिनेट, दुर्गा कुमारी कामी ७ मिनेट, देवकी मल्ल थापा ५ मिनेट, देवराज पाठक ५ मिनेट, नन्द बहादुर साँउद ६ मिनेट, नेपालु चौधरी १० मिनेट, पुर्णा जोशीले ८ मिनेट बोल्ने समय पाएका थिए । 

त्यस्तै, शुक्रबार चलेको बैठकमा मान कुमारी साँउद ८ मिनेट, महेश दत्त जोशी १२ मिनेट, मानबहादुर धामी १२ मिनेट, मानबहादुर सुनार ५ मिनेट, कृष्णराज सुबेदी १० मिनेट, माया तमाङ ५ मिनेट, मालामति राना ६ मिनेट, रतन थापा १० मिनेट, लालबहादुर खड्का १० मिनेट, वीरमान चौधरी १५ मिनेट, शान्ति नेपाली ५ मिनेट, श्यामलाल थारु ५ मिनेट, सुशिला बुढाथोकी ८ मिनेट र हर्क बहादुर कुँवरले १० मिनेट बोल्ने समय पाएका थिए ।
 

कमेन्ट गर्नुहोस्