
धनगढी, ३० चैत– प्रदेश ७ को अल्पकालीन बजेट बैशाख पहिलो साता आउने निश्चित भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले चैतमसान्तभित्रै ल्याउने तयारी गरेपनि आर्थिक विधेयक पारित हुन ढिलाई भएपछि बजेट एक साता ढिला आउने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले चैतभित्रै ल्याउने तयारी गरेपनि विधेयक पारित हुनमा समय लागेको र अन्य प्राविधिक कारणले एक साता ढिलो बजेट आउने जानकारी दिए ।
उक्त मन्त्रालयले प्रदेशको लागि १ अर्व २ करोड ५ लाख बराबरको अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ ।
सरकार गठनपछि सञ्चित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको थियो । उक्त समस्या समाधानका लागि अल्पकालीन बजेट भए पनि ल्याउने तयारीमा उक्त अर्थ मन्त्रालय लागि परेको छ ।
अल्पकालीन बजेटको मुख्य प्राथमिकतामा कृषि क्षेत्र पार्ने जनाइएको । यसका साथै गरिबी निवारण, शिक्षा, स्वाथ्य, यातायात क्षेत्र बजेटका प्राथमिकताको क्षेत्र रहेको मन्त्री बोहराले बताए ।